काठमाडौं। ओपेक प्लसले नोभेम्बरका लागि तेल उत्पादनको लक्ष्य यथावत् राख्ने निर्णय गरेको छ। उत्पादक समूहले आइतबार गरेको बैठकपछि यस्तो निर्णय सार्वजनिक गरेको हो। अर्को वर्षसम्म उत्पादन नीतिमा थप परिवर्तन हुने सम्भावना न्यून रहने अपेक्षाबीच यो निर्णय गरिएको हो।
आइतबार अनलाइनमार्फत भएको संक्षिप्त बैठकमा समूहका सात प्रमुख सदस्यले नोभेम्बरका लागि उत्पादन लक्ष्य यथावत् राख्ने निर्णय गरेका हुन्। ती सात सदस्यमा साउदी अरेबिया, रुस, इराक, कुवेत, अल्जेरिया, काजाकिस्तान र ओमान छन्।
अमेरिका–इजरायलको इरानविरुद्धको युद्धका कारण निर्यातमा आएको अवरोधका बीच खाडी क्षेत्रका ओपेक प्लस उत्पादकहरूले आफ्नो निर्धारित उत्पादन लक्ष्यभन्दा निकै कम उत्पादन गरिरहेका छन्। पछिल्ला केही महिनामा निर्यात सामान्य अवस्थाको ६० देखि ८० प्रतिशतको हाराहारीमा सीमित हुँदै आएको छ।
युबीएसका विश्लेषक जियोभानी स्टाउनोभोले भने, “ओपेक प्लसका सात सदस्यले बजारको अपेक्षाअनुसार उत्पादन सीमा यथावत् राखेका छन्। यद्यपि स्ट्रेट अफ होर्मुज हुँदै तेलको प्रवाह बढे पनि उनीहरूको उत्पादन अझै निर्धारित सीमाभन्दा निकै कम छ।”
शुक्रबार युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा डिजेलको भण्डार बजारमा ल्याउने सहमति गरेपछि तेलको मूल्य घटेको थियो। त्यसका बाबजुद ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि छ। इरान युद्ध सुरु हुनुअघि फेब्रुअरीको अन्त्यतिर यसको मूल्य करिब ७३ डलर प्रतिब्यारेल थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।