काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण अघि सारेका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज हुने बन्दसत्रमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमार्फत उनले पार्टीको आगामी दशकको वैचारिक, राजनीतिक, संगठनात्मक र राष्ट्रिय कार्यदिशा प्रस्ताव गर्न लागेका हुन्।
प्रतिवेदनमा कांग्रेसको राजनीतिक यात्रा, उपलब्धि र बाँकी दायित्वको समीक्षा गर्दै पछिल्लो दुई दशकको अभ्यासबाट पाठ सिक्नुपर्नेमा जोड दिइएको छ। सत्ता–केन्द्रित राजनीति, संगठनात्मक कमजोरी, युवापुस्तासँगको दूरी र निर्वाचनमा भएको पराजयलाई आत्मसमीक्षाको विषय बनाउनुपर्ने उल्लेख छ।
भदौको जनउभारदेखि १५औँ महाधिवेशनसम्मको राजनीतिक घटनाक्रम, बदलिँदो सामाजिक मनोविज्ञान, पुस्ताबीचको दूरी, अर्थतन्त्र, बसाइँसराइ तथा विश्वव्यापी परिवर्तनलाई प्रतिवेदनले राष्ट्रिय चुनौतीका रूपमा विश्लेषण गरेको छ।
थापाले कांग्रेसलाई निर्वाचनका बेला मात्र सक्रिय हुने दल नभई निरन्तर जनतामाझ उपस्थित राष्ट्रिय शक्तिका रूपमा विकास गर्नुपर्ने प्रस्ताव गरेका छन्। राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई २१औँ शताब्दीअनुकूल पुनर्व्याख्या गर्दै ‘समुन्नत नेपाल’ निर्माणको अवधारणा पनि अघि सारिएको छ।
संगठन सुधारतर्फ सदस्यता र नागरिक सहभागिता विस्तार, आन्तरिक लोकतन्त्र सुदृढीकरण, समावेशिता, पुस्तागत नेतृत्व, स्वच्छ वित्तीय प्रणाली तथा जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्डलाई प्राथमिकता दिइएको छ। आगामी चार वर्षको नेतृत्वकाललाई स्पष्ट कार्यभार र कार्यान्वयनसँग जोड्दै त्यसपछि पनि निरन्तर सुधारमार्फत आगामी दशकका लक्ष्य हासिल गर्ने योजना प्रतिवेदनमा प्रस्ताव गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।