काठमाण्डौ । नेपाली सेयरबजारका संस्थागत लगानीकर्ता म्युचुअल फन्डहरूको सूचीकृत सेयरमा रहेको लगानी मूल्य एक महिनामै एक अर्ब रुपैयाँभन्दा बढीले घटेको छ। सञ्चालनमा रहेका ६० वटा सामूहिक लगानी कोषको भदौ मसान्तसम्म सूचीकृत सेयरमा कुल ६७ अर्ब १९ करोड ६६ लाख रुपैयाँ बराबरको लगानी रहेको छ।
साउन मसान्तमा यस्तो लगानी मूल्य ६८ अर्ब २० करोड १५ लाख रुपैयाँ थियो। भदौ महिनाको वित्तीय विवरणअनुसार एक महिनामा फन्डहरूको सूचीकृत सेयर लगानी मूल्य करिब १ अर्ब ४९ लाख रुपैयाँ अर्थात् १.४७ प्रतिशतले घटेको हो।
समग्र सेयर लगानी मूल्य खुम्चिए पनि योजनागत विवरणमा भने फरक अवस्था देखिएको छ। सूचीकृत सेयरमा सबैभन्दा ठूलो लगानी एनआईबीएल सहभागिता फन्डको छ। सानिमा इक्विटी फन्ड–२ को सेयर लगानी मूल्य उल्लेख्य बढ्दा एनएमबी ५० को भने झन्डै आधाले घटेको छ।
भदौ मसान्तसम्म एनआईबीएल सहभागिता फन्डको सूचीकृत सेयरमा ८ अर्ब ८१ करोड ७९ लाख रुपैयाँ बराबरको लगानी रहेको छ। कुल ६० वटा फन्डको सूचीकृत सेयर लगानी मूल्यमा यस एउटै योजनाको हिस्सा करिब १३ प्रतिशत छ। ठूलो लगानीसहित अग्रस्थानमा रहेको यो फन्डको सेयर लगानी मूल्य पनि साउनको तुलनामा ०.९६ प्रतिशतले घटेको छ।
सानिमा इक्विटी फन्ड–२ सूचीकृत सेयरतर्फको लगानी मूल्य भने साउनको तुलनामा ३३९.१० प्रतिशतले बढेको छ। यो वृद्धिसँगै भदौ मसान्तमा यसको सेयर लगानी मूल्य ४५ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
एनएमबी ५० (NMB50) को विवरणमा भने ठूलो गिरावट देखिएको छ। भदौमा यस योजनाको सूचीकृत सेयर लगानी मूल्य ४९.६९ प्रतिशतले घटेर १७ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ।
सूचीकृत सेयर लगानीको मूल्यमा हुने परिवर्तनमा फन्डहरूको खरिद–बिक्रीसँगै सेयरको बजार भाउको प्रभाव पनि पर्छ। त्यसैले समग्र लगानी मूल्यमा आएको एक अर्ब रुपैयाँभन्दा बढीको कमीले त्यति नै रकमको सेयर बिक्री भएको पुष्टि भने गर्दैन।
यस अवधिमा फन्डहरूको औसत प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) समेत घटेको छ। साउनमा प्रतिइकाइ १०.४८ रुपैयाँ रहेको औसत न्याभ भदौ मसान्तमा १०.२६ रुपैयाँमा झरेको छ। विवरणअनुसार औसत न्याभ प्रतिइकाइ ०.२१९८ रुपैयाँ अर्थात् करिब २२ पैसाले घटेको हो।
सूचीकृत सेयर लगानी मूल्य र औसत न्याभ घटेको यही अवधिमा फन्डहरूको बैंक मौज्दात भने २.८७ प्रतिशतले बढेको छ।
अधिकांशको न्याभमा गिरावट
यस अवधिमा फन्डहरूको औसत प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) समेत घटेको छ। साउनमा प्रतिइकाइ १०.४८ रुपैयाँ रहेको औसत न्याभ भदौ मसान्तमा १०.२६ रुपैयाँमा झरेको छ। विवरणअनुसार औसत न्याभ प्रतिइकाइ ०.२१९८ रुपैयाँ अर्थात् करिब २२ पैसाले घटेको हो।
भदौ मसान्तको न्याभका आधारमा प्रभु स्मार्ट फन्ड सबैभन्दा अगाडि छ। यसको प्रतिइकाइ न्याभ १३.०१ रुपैयाँ रहेको छ। त्यसपछि हिमालयन ८०–२० को १२.५३ रुपैयाँ र प्रभु सेलेक्ट फन्डको १२ रुपैयाँ रहेको छ।
मासिक परिवर्तन हेर्दा सबैभन्दा ठूलो न्याभ गिरावट एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ मा देखिएको छ। यस योजनाको न्याभ प्रतिइकाइ १.१६ रुपैयाँले घटेर १०.५३ रुपैयाँमा झरेको छ। प्रभु सेलेक्ट फन्डको न्याभ १.०९ रुपैयाँ र कुमारी इक्विटी फन्डको न्याभ १.०२ रुपैयाँले घटेको छ।
औसत न्याभ ओरालो लागेका बेला केही योजनाले भने सुधार गरेका छन्। प्रभु सिस्टेमेटिक इन्भेस्टमेन्ट स्किमको न्याभ प्रतिइकाइ ३१ पैसाले बढेर ११.१६ रुपैयाँ पुगेको छ। सिद्धार्थ इक्विटी फन्ड–२ को न्याभ पनि १४ पैसाले बढेर १०.०९ रुपैयाँ कायम भएको छ।
न्याभ न्यून रहेका योजनामा एचएलआई लार्ज क्याप फन्ड र एनआईसी एसिया सेलेक्ट–३० छन्। भदौ मसान्तमा यी योजनाको प्रतिइकाइ न्याभ क्रमशः ८.५७ रुपैयाँ र ९.२८ रुपैयाँ रहेको छ।
सूचीकृत सेयर लगानी मूल्य र औसत न्याभ घटेको यही अवधिमा म्युचुअल फन्डहरूको बैंक मौज्दात भने साउनको तुलनामा २.८७ प्रतिशतले बढेको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।