काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना चुहाउने जोसुकैलाई पनि कानुनअनुसार कारबाही गरिने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले राज्यले सुम्पिएको गोपनीयताको दुरुपयोग गर्ने र आफ्नो देश तथा संगठनमाथि विश्वासघात गर्ने कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे ।
उनले गृह मन्त्रालय तथा मातहतका निकायमा जिम्मेवारीमा रहेका केही पदाधिकारी वा कर्मचारीबाट गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको उल्लेख गरेका छन् ।
“राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो,” गृहमन्त्री गुरुङले लेखेका छन्, “पदले सूचनामा पहुँच दिन्छ, तर त्यसको दुरुपयोग गर्ने अधिकार दिँदैन।”
उनका अनुसार गृह प्रशासन मातहत प्राप्त हुने सामान्य देखिने सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध रोकथाम, अनुसन्धान अघि बढाउन तथा गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण हुन सक्छ ।
गुरुङले पदीय जिम्मेवारीको दुरुपयोग गरी गोप्य सूचना चुहाउने कार्यलाई सामान्य रूपमा नलिइने संकेत गर्दै त्यस्ता व्यक्तिलाई कानुनको कठघरामा ल्याइने बताएका छन् ।
गृहमन्त्रीको यो अभिव्यक्ति संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई निलम्बन गरेको भोलिपल्ट आएको हो ।
गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत काम गरेको तथा संवेदनशील सूचना चुहावट गरेको आरोप लगाएको छ । सोही प्रकरणपछि गृह प्रशासनभित्र गोपनीय सूचना व्यवस्थापन र त्यसको दुरुपयोगबारे बहस तीव्र बनेको छ ।
गुरुङले राज्यको गोपनीयता र संवेदनशील सूचनाको संरक्षणमा कुनै सम्झौता नगरिने स्पष्ट गर्दै जिम्मेवारीमा रहेका सबै पदाधिकारी र कर्मचारीलाई पदीय मर्यादा तथा कानुनी दायित्वअनुसार काम गर्न सचेत गराएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।