काठमाडौं । यस वर्ष बडादसैंको टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे तोकिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका ग्रहण गर्ने व्यक्ति पश्चिम दिशातर्फ फर्किनुपर्नेछ ।
विजयादशमीका दिन देवी विसर्जनको शुभसाइत बिहान ८ः४९ बजे रहेको छ । त्यसपछि टीका तथा जमरा लगाउने कार्यक्रम सुरु हुनेछ ।
दसैंको प्रारम्भ भने असोज २५ गते आइतबार घटस्थापनाबाट हुनेछ । घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे तोकिएको छ । सो दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले तिनको शान्ति गरेर मात्र घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।
असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने साइत छ । झण्डा फेर्दा पश्चिम मोहडा फर्काउनुपर्ने जनाइएको छ । असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ ।
यस वर्ष फूलपाती असोज ३१ गते शनिबार परेको छ । उक्त दिन श्री तुलजाभवानी यात्राको साइत बिहान ७ः३७ बजे र स्थिरासनको साइत बिहान १०ः३९ बजे रहेको छ ।
कात्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ । महानवमी भने कात्तिक ३ गते मंगलबार परेको छ ।
विजयादशमीकै दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०ः५१ बजे र स्थिरासनको साइत बिहान ११ः५२ बजे तोकिएको छ । खड्गयात्रा पनि सोही दिन हुनेछ ।
कात्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिने समितिले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।