काठमाण्डौ । नेपाल निर्माण उद्योग परिषद्ले नेपाल निर्माण व्यवसायी महासंघको वर्तमान कार्य समितिले छोटो अवधिमै निर्माण व्यवसायीका दीर्घकालीन समस्या समाधानका लागि महत्वपूर्ण काम गरेको भन्दै बधाई तथा सम्मान व्यक्त गरेको छ।
परिषद्का अध्यक्ष बलिभद्र राना नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार महासंघका अध्यक्ष निकोलस पाण्डेलाई महासंघकै कार्यकक्षमा भेटेर वर्तमान कार्य समितिले पूर्वाधार क्षेत्र सुधारका लागि देखाएको सक्रियता, समन्वयकारी भूमिका र परिणाममुखी कार्यप्रति बधाई दिएको हो।
परिषद्का अनुसार करिब दुई दशकदेखि निर्माण व्यवसायीले उठाउँदै आएको सार्वजनिक खरिद ऐन संशोधनको विषयलाई निर्णायक चरणमा पुर्याउन महासंघको वर्तमान कार्य समितिले महत्वपूर्ण भूमिका खेलेको छ। व्यवसायीका दीर्घकालीन मागलाई कानुनी रूपमा सम्बोधन गराउने दिशामा महासंघको पहल प्रभावकारी रहेको परिषद्को भनाइ छ।
सार्वजनिक खरिद प्रणालीमा औसत दर प्रणाली लागू गराउनुलाई पनि परिषद्ले महासंघको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेको छ।
महासंघको पहलमा व्यवसायी अनुकूल हुने गरी सार्वजनिक खरिद नियमावलीको १५औं तथा १६औं संशोधन आएको तथा नेपाल राष्ट्र बैंकबाट व्यवसायीमैत्री मौद्रिक नीति जारी भएको परिषद्ले जनाएको छ।
परिषद्ले महासंघले सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेको छ। स्वदेशी तथा विदेशी मञ्चमा नेपालको पूर्वाधार क्षेत्रका मुद्दा प्रभावकारी रूपमा उठाउनु पनि वर्तमान कार्य समितिको सकारात्मक पक्ष रहेको परिषद्को निष्कर्ष छ।
निर्माण व्यवसायीले लामो समयदेखि भोग्दै आएका प्राविधिक तथा कानुनी समस्या सम्बन्धित प्रदेशमै समाधान गर्ने उद्देश्यले सबै प्रदेशमा प्राविधिक तथा कानुनी शाखा स्थापना गर्नु अर्को महत्वपूर्ण उपलब्धि भएको परिषद्का अध्यक्ष रानाले बताए।
नेपाल निर्माण व्यवसायी महासंघको १३औं अधिवेशनबाट २०८२ चैत १९ गते निकोलस पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।