काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि मतदान सुरु हुनेछ।
यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम रहे पनि वर्षा र केही प्राविधिक कारणले समय परिवर्तन गरिएको हो। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्।
मतदानका लागि काठमाडौंमा राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएका छन्। राष्ट्रिय सभागृहमा बागमती, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी तथा खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्।
भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिका लागि पनि खुलामञ्चमै मतदानको व्यवस्था गरिएको छ। प्रतिनिधिको परिचय र मतदाता नामावली रुजु भएपछि मात्र मतदान गर्न पाइने निर्वाचन समितिले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।