काठमाण्डौ । त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगका लागि कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले स्वेच्छिक रूपमा ४५ लाख ९७ हजार रुपैयाँभन्दा बढी रकम सहयोग गरेका छन्।
बैंकका कर्मचारीहरूले आफ्नो तलबबाट स्वेच्छिक रूपमा रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३ रुपैयाँ ५० पैसा योगदान गरेका हुन्।
प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कर्मचारीहरूले उक्त रकम संकलन गरेको बैंकले जनाएको छ। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रमहरूमा उपयोग हुने विश्वास बैंकले व्यक्त गरेको छ।
कुमारी बैंकले सामाजिक उत्तरदायित्वलाई प्रमुख प्राथमिकतामा राख्दै विपद्का समयमा प्रभावित समुदायको साथमा उभिने परम्परा कायम राख्दै आएको जनाएको छ। कर्मचारीहरूको यस योगदानले मानवीय संवेदना, सामाजिक एकता तथा राष्ट्रप्रतिको उत्तरदायित्वलाई थप मजबुत बनाएको बैंकको भनाइ छ।
यसअघि पनि कुमारी बैंकले त्रिशूली–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको थियो।
त्यस्तै, बाढी प्रभावितहरूको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन बैंकले गृह मन्त्रालयलाई ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक ड्रोन, पावर बैंक, जेनेरेटरलगायत विपद् व्यवस्थापनका आवश्यक सामग्रीसमेत उपलब्ध गराएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।