काठमाण्डौ । रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ। पुलका सबै ६ वटा स्पानसहित फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको काम सम्पन्न भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा ठेक्का सम्झौता भएको उक्त पुल पटक–पटक म्याद थप्दा पनि पूरा हुन सकेको थिएन। निर्माणमा अत्यधिक ढिलाइ भएपछि तत्कालीन निर्माण कम्पनीलाई कालोसूचीमा राख्दै बाँकी कामका लागि २०७९ सालमा पुनः ठेक्का आह्वान गरिएको थियो।
तर, नयाँ ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि निर्माण कार्यले गति लिन सकेन। पुरानो ठेक्काअन्तर्गत निर्माण गरिएको सबस्ट्रक्चरको जिम्मेवारी स्पष्ट नहुनु र आयोजनाका लागि पर्याप्त बजेट विनियोजन नहुनु निर्माणमा ढिलाइ हुनुका प्रमुख कारण रहेको मन्त्री लम्सालले बताए।
समस्या पहिचानपछि डिभिजन कार्यालयमार्फत पुरानो निर्माणको जिम्मेवारी स्पष्ट पारिएको र आवश्यक बजेटको पूर्ण व्यवस्थापन गरी निर्माण कार्यलाई तीव्रता दिइएको उनको भनाइ छ।
हाल पुलको मुख्य संरचनासहित फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको काम सकिएको छ। एप्रोच रोड र रिभर ट्रेनिङसम्बन्धी काम भने जारी रहेको मन्त्री लम्सालले जानकारी दिए।
वर्षौंदेखि रुग्ण आयोजनाका रूपमा रहेको लालबकैया पुल पूर्ण रूपमा सञ्चालनमा आएपछि स्थानीय बासिन्दाको आवागमन सहज हुनुका साथै क्षेत्रीय यातायात सम्पर्कमा समेत उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।