काठमाण्डौ । दशैं बिदाको अवधिमा पनि काठमाडौं जिल्ला अदालतले आवश्यक न्यायिक सेवा प्रवाह गर्ने भएको छ।
अदालतले शुक्रबार सूचना जारी गर्दै असोज २५ देखि कात्तिक ८ गतेसम्म नियमित बिदा रहे पनि घटस्थापना, शनिबार, फूलपाती र विजयादशमीको टीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेवा उपलब्ध हुने जनाएको हो।
बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन दर्ता, जरुरी पक्राउ पुर्जी समर्थन तथा सोही क्रममा उपस्थित गराइएका अभियुक्तको म्याद थपसम्बन्धी काम गरिनेछ।
त्यस्तै, कल डिटेल्स रेकर्ड (सीडीआर) लिन अनुमति दिने, पक्राउ अनुमति जारी गर्ने तथा धरौटी दाखिला गर्न नसकी थुनामा पठाइएका प्रतिवादीले पछि धरौटी रकम बुझाउन ल्याएमा रकम बुझिलिने सेवा पनि सञ्चालन हुनेछ।
फैसलाअनुसार जरिवाना तिरेर रिहा हुन सक्ने व्यक्तिले जरिवाना रकम दाखिला गर्न चाहेमा त्यस्तो रकमसमेत बिदाको अवधिमा बुझिलिने अदालतले जनाएको छ।
अदालतका अनुसार दशैं बिदामा पूर्ण नियमित सेवा भने सञ्चालन हुने छैन। तर तत्काल प्रकृतिका न्यायिक तथा कानुनी काम रोकिन नदिन सीमित सेवा निरन्तर राखिनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।