काठमाण्डौ । संघीय निजामती सेवा विधेयकमा ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अवकाश दिने प्रस्ताव आएपछि संघीय संसद् सचिवालयका सात कर्मचारीले राजीनामा दिएका छन्।
संसद् सचिवालय स्रोतका अनुसार असोज १६ गतेयता राजीनामा दिने कर्मचारीको संख्या सात पुगेको हो।
राजीनामा बुझाउनेमा प्राविधिक अधिकृत सुदर्शन गौतम, मुद्रण अधिकृत राजेन्द्र लामिछाने, प्राविधिक अधिकृत नरेश श्रेष्ठ, नायब सुब्बा दिपेन्द्र केसी, शाखा अधिकृत गणेश सिम्खडा तथा कार्यालय सहयोगी लक्ष्मी गिरी र चिरिकाजी महर्जन छन्।
प्राविधिक अधिकृत गौतमले संसद् सचिवालयमा ३४ वर्ष सेवा गरेका थिए। प्रचलित कानुनअनुसार उमेर हदबाट अवकाश लिन अझै ६ वर्ष दुई महिना बाँकी रहे पनि प्रस्तावित ‘५५–३०’ व्यवस्थाकै सन्दर्भमा राजीनामा दिने निर्णय गरेको उनले बताएका छन्।
सरकारले संसद् सेवाका कर्मचारीलाई समेत समेट्ने गरी ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अवकाशमा पठाउने व्यवस्था समेटेर संघीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा दर्ता गरिसकेको छ।
तर संसद् अधिवेशन अन्त्य भएपछि उक्त व्यवस्था अध्यादेशमार्फत ल्याउन सकिने चर्चा कर्मचारीवृत्तमा चलेसँगै संसद् सचिवालयका केही कर्मचारीले समयअगावै राजीनामा दिएका हुन्।
हाल संसद् सेवाका कर्मचारीका लागि छुट्टै संसद् सेवा ऐन, २०६४ कार्यान्वयनमा छ। प्रस्तावित संघीय निजामती सेवा विधेयकले संसद् सेवाका कर्मचारीलाई समेत समेट्ने व्यवस्था गरेपछि उनीहरूमा सेवा सर्त परिवर्तन हुने चिन्ता बढेको बताइएको छ।
राजीनामा दिएका एक कर्मचारीले सेवा प्रवेश गर्दाको सर्त बीचमै परिवर्तन हुन लागेको भन्दै असन्तुष्टि जनाएका छन्।
संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर पूरा भएपछि अवकाश हुने व्यवस्था प्रस्ताव गरिएको छ। यद्यपि, संक्रमणकालीन व्यवस्थाअन्तर्गत एक पटकका लागि ५८ वर्ष उमेरसम्म सेवा गर्न दिने र त्यसपछि अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गर्ने प्रस्ताव विधेयकमा रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।