काठमाण्डौ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण कार्य भइरहेको छ।
यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौं उपत्यकाका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ।
नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले मातातीर्थ–स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ कन्डक्टर जडान गरिरहेको हो।
उक्त कामका लागि दुवै दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
हाल कम क्षमताको पुरानो कन्डक्टरको सट्टा उच्च क्षमताको एचटीएलएस कन्डक्टर जडान भइरहेको छ। डबल सर्किट लाइनको एउटा सर्किटमा करिब ४०० मिटर कन्डक्टर परिवर्तन गर्न बाँकी रहेको जनाइएको छ।
उक्त काम सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता वृद्धि हुने, बढ्दो माग व्यवस्थापनमा सहज हुने र उपत्यकाको विद्युत् प्रणाली थप भरपर्दो बन्ने अपेक्षा गरिएको छ।
प्रसारण लाइन बन्द रहने समयमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा सेवा प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ।
निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको छ। मौसम प्रतिकूल भएमा भने कार्यतालिका परिवर्तन हुन सक्ने प्राधिकरणले जनाएको छ।
प्राविधिक कामका कारण ग्राहकलाई पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।