काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि ५० एमबीपीएसभन्दा कम गतिको इन्टरनेट प्याकेज बिक्री तथा नवीकरण बन्द गरेका छन् । यससँगै कम गतिको इन्टरनेट प्रयोग गर्ने नयाँ तथा नवीकरण गर्ने ग्राहकले बढी शुल्क तिर्नुपर्ने भएको छ ।
इन्टरनेट सेवाप्रदायकहरूको संस्था (आइस्पान)ले सेवा गुणस्तर सुधार र अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्ने उद्देश्यले न्यूनतम गति ५० एमबीपीएस कायम गरेको जनाएको छ । आइतबारसम्म लिइसकेका पुराना प्याकेज भने निरन्तर रहनेछन् ।
नयाँ व्यवस्थाअनुसार भायनेटले ४० एमबीपीएसको मासिक ९०७ रुपैयाँको प्याकेजलाई ५० एमबीपीएसमा बढाएर ९५१ रुपैयाँ पुर्याएको छ । त्यस्तै, सुबिसुको २० एमबीपीएसको ७५१ रुपैयाँ र ३० एमबीपीएसको ८०२ रुपैयाँको प्याकेज अब ५० एमबीपीएसको ९०५ रुपैयाँ पर्नेछ ।
वर्ल्डलिंकको न्यूनतम प्याकेज नै ५० एमबीपीएसको ९५० रुपैयाँभन्दा माथि रहेकाले उसको मूल्यमा परिवर्तन नहुने जनाइएको छ । ५० एमबीपीएसभन्दा माथिका प्याकेजको मूल्य पनि यथावत् रहनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।