काठमाण्डौ । गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहान आएको लेदो र गेग्रानसहितको आकस्मिक बाढी सुक्खा पहिरोका कारण नदी थुनिएर पछि खुलेपछि आएको हुन सक्ने नेपाली सेनाले जनाएको छ।
सेनाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ स्थित फिलिम क्षेत्रमा सुक्खा पहिरो गएको पुष्टि भएको छ।
आइतबार बिहान ५ः५५ बजे नदी थुनिएको सूचना पाएलगत्तै सेनाको रुद्रध्वज गणबाट निरीक्षण टोली परिचालन गरिएको थियो। टोलीले पहिरो गएको पुष्टि गरे पनि बाढीको वास्तविक कारण भने अझै यकिन भइसकेको छैन।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बूढीगण्डकीको बाढी गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीसँग मिल्दोजुल्दो देखिएको बताएका छन्। वास्तविक कारण पहिचान गर्न ड्रोनसहितको टोली परिचालन गरिएको छ।
बाढीले गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग तथा न्याकचेत–सिर्दिबास र माछिखोला–केरौजा जोड्ने दुई झोलुंगे पुल बगाएको छ।
त्यस्तै, धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको पावरहाउसमा समेत क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार एउटा कच्ची घर बगेको, आठ घर र आठ टहरामा बाढी पसेको तथा थप २२ घर जोखिममा रहेको जनाइएको छ। सल्लेरी क्षेत्रमा आठदेखि १० घर बगेको विवरणसमेत प्राप्त भएको छ।
बाढीबाट हालसम्म मानवीय क्षतिको खबर आएको छैन। नेपाली सेनाले हेलिकप्टरमार्फत चुमनुब्री–३ को जगतबाट ६ जनाको सकुशल उद्धार गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।