काठमाण्डौ । बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित मोटरेबल पुल बगाएपछि तत्काल वैकल्पिक यातायात सञ्चालनका लागि बेलिब्रिज निर्माण गर्ने तयारी थालिएको छ।
दुई जिल्लाबीचको महत्वपूर्ण सडक सम्पर्क टुटेपछि आवतजावत सहज बनाउन बेलिब्रिज जडानको प्रक्रिया अघि बढाइएको हो।
गोरखा सडक योजनाका अनुसार बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाबाट ल्याउने तयारी भइरहेको छ।
कार्यालय प्रमुख विनोद पुनले सम्भवतः सोमबारसम्म निर्माण सामग्री आइपुग्ने र त्यसलगत्तै बेलिब्रिज जडानको काम सुरु गरिने जानकारी दिए।
बेलिब्रिज निर्माणको तयारीसँगै नेपाली सेनासमेत परिचालन भएको छ। सेनाको रुद्रध्वज गणबाट प्राविधिक तथा स्थलगत अध्ययनका लागि टोली खटाइएको हो।
गणका गणपति विरोध रिजालका अनुसार बेलिब्रिज राख्ने स्थानको स्थलगत निरीक्षण तथा आवश्यक तयारीका लागि सेनाको टोली आइतबार नै परिचालन भइसकेको छ।
हेटौँडाबाट आवश्यक सामग्री प्राप्त हुनासाथ निर्माण कार्य अघि बढाइने उनले बताए।
बाढीले मोटरेबल पुल बगाएपछि गोरखा र धादिङबीचको उक्त सडकमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ। बेलिब्रिज निर्माणपछि प्रभावित क्षेत्रमा यातायात सम्पर्क पुनःस्थापना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।