काठमाण्डौ । बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित महत्वपूर्ण क्यान्टिलिभर पुल बगाएको छ। आइतबार बिहान आएको बाढीले लोक्पास्थित सर्दिभिरमा निर्माण गरिएको ९० मिटर लामो पुल बगाएपछि तल्लो चुम क्षेत्रको आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको हो।
पुल बगेसँगै चुमनुब्री गाउँपालिकाका वडा नम्बर ६ र ७ अन्तर्गतका विभिन्न गाउँको बाहिरी सम्पर्क प्रभावित भएको छ। दुर्गम हिमाली बस्तीलाई जोड्ने प्रमुख पैदलमार्ग नै बाढीले नष्ट गरेपछि स्थानीयवासीको दैनिक आवतजावतमा गम्भीर समस्या उत्पन्न भएको छ।
गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार बाढीले क्यान्टिलिभर पुल पूर्ण रूपमा बगाएको छ। पुल बगेपछि तल्लो चुम क्षेत्रमा जाने वैकल्पिक बाटोसमेत नरहेको उनले बताइन्।
उनका अनुसार अब तत्काल आवतजावत सहज बनाउन पुरानै शैलीमा काठका भर्याङ र डोरीको सहायताले अस्थायी बाटो निर्माण गर्नुपर्ने अवस्था आएको छ।
बाढीले बगाएको सर्दिभिरको क्यान्टिलिभर पुल नेपालको दोस्रो क्यान्टिलिभर पुलका रूपमा परिचित थियो। यसअघि सोही क्षेत्रको केरौँजास्थित यारुबगरमा पहिलो क्यान्टिलिभर पुल निर्माण गरिएको थियो।
बेलायती सहयोगी संस्था डीएफआईडीको आर्थिक सहयोगमा निर्माण गरिएको सर्दिभिरको पुल दुर्गम हिमाली क्षेत्रका बासिन्दाका लागि महत्वपूर्ण पूर्वाधार मानिन्थ्यो।
भीरमा विशेष संरचना जडान गरी बनाइएको उक्त पुल सञ्चालनमा आएपछि तिब्बतसँग सीमा जोडिएका चुम्तेत र छेकम्पारका स्थानीयवासीलाई वर्षभरि आवतजावत गर्न सहज भएको थियो।
पुल निर्माण हुनुअघि स्थानीयवासी जोखिमपूर्ण भीरमा डोरीको सहारामा आवतजावत गर्न बाध्य थिए। क्यान्टिलिभर पुलले त्यस्तो जोखिमपूर्ण यात्राको अन्त्य गरेको थियो।
तर, बूढीगण्डकीको पछिल्लो बाढीले उक्त संरचना बगाएसँगै दुर्गम चुम क्षेत्रका बासिन्दा फेरि जोखिमपूर्ण यात्राको बाध्यतामा पर्ने अवस्था सिर्जना भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।