काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट घर फर्किने यात्रुको चाप बढेको छ। अध्ययन, रोजगारी तथा व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन गाउँ फर्किन थालेका हुन्।
नयाँबसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म नौ दिनमा दुई लाख सात हजार २५१ यात्रु नयाँबसपार्कबाट बाहिरिएका छन्।
यात्रुको चाप बढेसँगै व्यवस्थापनमा समस्या भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बताए। असोज २३ गते अग्रिम टिकट बुकिङ खुल्ने दिन धादिङको गलौँदीमा पृथ्वी राजमार्ग भासिएर आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएकाले समस्या भएको उनको भनाइ छ।
महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।