काठमाण्डौ । दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदा जनकपुरधामका मुख्य बजारमा चहलपहल बढ्नुपर्ने समय हो । तर यसपटक अवस्था उल्टो देखिएको छ । बजारमा मानिसको आवतजावत देखिए पनि किनमेल नबढ्दा व्यवसायी निराश बनेका छन् ।
चाडपर्वलाई लक्षित गरेर नयाँ कपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्स तथा अन्य उपभोग्य सामानको स्टक थपेका व्यवसायी अहिले बिक्री नहुँदा चिन्तित छन् । कतिपयले दिनभर पसल खोलेर बस्दा ‘बोहनी’समेत गर्न कठिन भएको बताएका छन् ।
जनकचोक, शिवचोक, रामानन्दचोक, पिडारीचोक, भानुचोक, पुल्चोक र मुरलीचोकलगायतका प्रमुख व्यापारिक क्षेत्रमा विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा एक महिनाअघिदेखि नै ग्राहकको भीड लाग्ने गर्थ्यो । यस वर्ष भने चाडपर्व नजिकिँदासमेत कारोबार सामान्य दिनकै हाराहारीमा रहेको व्यवसायीको अनुभव छ ।
जनकचोकमा रेडिमेड कपडाको व्यवसाय गर्दै आएका एमडी मुर्कुजाले दसैँका लागि नयाँ सामान भित्र्याए पनि अपेक्षाअनुसार बिक्री नभएको बताए । उनका अनुसार बिक्री नहुँदा थपिएको स्टक नै थन्किने अवस्था आएको छ ।
पिडारीचोकका कपडा व्यवसायी परमेश्वर सहनीले विगतको तुलनामा कारोबार अत्यन्त कमजोर रहेको बताए । उनका अनुसार पहिले दसैँ आउन एक महिना बाँकी हुँदै व्यापारमा उल्लेख्य वृद्धि हुन्थ्यो, तर अहिले त्यो अवस्था छैन । उनले विगतको तुलनामा १० प्रतिशत हाराहारीसमेत व्यापार नभएको र सटरभाडा तिर्न कठिन भएको बताएका छन् ।
बिक्री घटे पनि व्यवसायीका नियमित खर्च भने घटेका छैनन् । घर तथा सटरभाडा, कर्मचारीको तलब, बिजुली, ढुवानी र अन्य सञ्चालन खर्च यथावत् रहँदा विशेषगरी साना तथा मझौला व्यवसायी थप दबाबमा परेका छन् ।
रामानन्दचोकका फेन्सी व्यवसायी अशोक रौनियारका अनुसार पछिल्ला तीन–चार वर्षदेखि चाडपर्वको व्यापार क्रमशः कमजोर हुँदै गएको छ । काठमाडौं, बुटवल, धरान र विराटनगरजस्ता बजारमा चाडपर्वका बेला कारोबार बढ्ने गरे पनि जनकपुरमा त्यस्तो अवस्था नरहेको उनको भनाइ छ ।
व्यवसायीहरूले जनकपुरको व्यापार कमजोर हुनुका पछाडि सीमावर्ती भारतीय बजारलाई प्रमुख कारणका रूपमा औँल्याएका छन् । सस्तो सामान पाइने अपेक्षामा धेरै उपभोक्ता भारततर्फका बजारमा किनमेल गर्न जाने हुँदा त्यसको प्रत्यक्ष असर जनकपुरका स्थानीय व्यवसायीमा परेको उनीहरूको भनाइ छ ।
त्यससँगै उपभोक्ताको कमजोर क्रयशक्ति र बदलिएको खरिद व्यवहारले पनि बजारमा असर परेको छ । पहिले चाडपर्वका बेला नयाँ कपडा तथा अन्य सामान खरिद गर्ने परम्परा बलियो रहे पनि अहिले उपभोक्ताले आवश्यक वस्तु मात्र किन्ने प्रवृत्ति बढेको व्यवसायी बताउँछन् ।
अनलाइन व्यापार र सामाजिक सञ्जालमार्फत हुने मूल्य प्रतिस्पर्धाले पनि परम्परागत पसलमाथि दबाब थपेको छ । जनकचोकका व्यवसायी सतीश झाले फेसबुक र टिकटकमा अत्यन्तै कम मूल्य देखाएर ग्राहक आकर्षित गर्ने प्रवृत्तिका कारण स्थानीय पसलले कठिन प्रतिस्पर्धा सामना गर्नुपरेको बताए ।
उनका अनुसार सामाजिक सञ्जालमा प्रचारका लागि अस्वाभाविक रूपमा कम मूल्य देखाइँदा ग्राहकले स्थानीय पसलमा पनि सोही मूल्यमा सामान खोज्ने गरेका छन् । तर त्यस्तो मूल्य व्यवसायीको खरिद लागतभन्दा समेत कम पर्ने अवस्था आउने गरेको छ ।
ग्रामीण क्षेत्रका ग्राहक र सीमावर्ती बजारमा निर्भर जनकपुरको व्यापार यसपटक चाडपर्वकै मुखमा कमजोर देखिँदा व्यवसायीलाई मौज्दात व्यवस्थापनदेखि नियमित खर्च धान्नसमेत सकस परेको छ । चाडपर्वले व्यापार उकास्ने अपेक्षामा थपिएको लगानी बिक्रीमा परिणत नहुँदा जनकपुरका व्यवसायी अहिले आगामी तिहार र छठले केही राहत दिने आशामा छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।