काठमाण्डौ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उद्योग, व्यवसाय तथा निजी विद्यालयमा कार्यरत श्रमिक, शिक्षक र कर्मचारीलाई कानुनबमोजिम पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन सम्बन्धित रोजगारदाता संस्थाहरूलाई निर्देशन दिएको छ।
विभागले श्रम ऐन, २०७४ को दफा ३७ मा रहेको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन निजी क्षेत्रका प्रमुख छाता सङ्गठनहरूलाई पत्राचार गरेको हो।
श्रम ऐनको दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले मनाउने प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसारको चाडपर्वका लागि प्रत्येक वर्ष आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।
सोही कानुनी व्यवस्थाको कार्यान्वयनका लागि विभागले असोज २३ गते नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी)लाई पत्राचार गरेको थियो।
पत्रमार्फत ती संस्थालाई आफ्ना आबद्ध उद्योग, प्रतिष्ठान तथा रोजगारदातालाई कानुनी व्यवस्थाबारे जानकारी गराई श्रमिकलाई चाडपर्व खर्च भुक्तानी गर्ने व्यवस्था मिलाउन भनिएको छ।
यसैगरी, विभागले असोज २६ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)लाई समेत छुट्टै पत्र पठाएको छ।
विभागले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई पनि श्रम ऐनले तोकेको चाडपर्व खर्च उपलब्ध गराउन सम्बन्धित विद्यालयहरूलाई निर्देशन तथा सहजीकरण गर्न ती संस्थालाई आग्रह गरेको हो।
विभागको निर्देशनसँगै उद्योग, व्यापारिक प्रतिष्ठान तथा निजी विद्यालयमा कार्यरत श्रमिक, शिक्षक र कर्मचारीले एक महिनाको आधारभूत तलब बराबरको चाडपर्व खर्च पाउने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।