काठमाडौं । समस्याग्रस्त घोषित लालीगुराँस र गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेको चितवन र काभ्रेका जग्गा लिलाम बिक्री गरिने भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार ऋणी सदस्य, जमानीकर्ता तथा सञ्चालकबाट साँवा, ब्याज र हर्जानासहितको ऋण असुल हुन नसकेपछि सम्पत्ति बिक्री प्रक्रिया अघि बढाइएको हो ।
लालीगुराँस सहकारीको चितवनस्थित तीन कित्ता जग्गाको न्यूनतम मूल्य क्रमशः १५ लाख ५२ हजार ३३८ रुपैयाँ, १६ लाख ११ हजार १९९ रुपैयाँ र ९ लाख ४८ हजार ४४७ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, गौतम श्री सहकारीको काभ्रेको नासिकास्थान साँगा–४ मा रहेको चार आना जग्गाको न्यूनतम मूल्य प्रतिआना ४४ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
समितिले तोकेको न्यूनतम मूल्यभन्दा कम नहुने गरी इच्छुक व्यक्ति, संस्था वा बचतकर्ताले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । सम्पत्ति बिक्रीबाट प्राप्त रकम समस्याग्रस्त सहकारीका दायित्व भुक्तानीमा उपयोग गरिने समितिले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।