काठमाण्डौ । काठमाडौं उपत्यकामा दशैंलाई लक्षित गर्दै सुरु गरिएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री तथा सिलिन्डर साटफेर व्यवस्था बुधबारदेखि बन्द हुने भएको छ।
नेपाल एलपी ग्यास उद्योग संघले बुधबारसम्म मात्रै संयुक्त रूपमा ग्यास बिक्री तथा जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर ग्यास उपलब्ध गराउने व्यवस्था कायम रहने जनाएको हो।
संघले बिहीबारदेखि भने पुरानै व्यवस्थाअनुसार उपभोक्तालाई नजिकको डिलरमार्फत ग्यास खरिद गर्न आग्रह गरेको छ।
दशैंका बेला ग्यास खरिदमा सहजता ल्याउने उद्देश्यले उद्योगीहरूले केही दिनअघि काठमाडौं उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर पायक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने व्यवस्था लागू गरेका थिए।
सुरुमा यो व्यवस्था असोज ३१ गतेसम्म कायम गर्ने भनिएको थियो। पछि त्यसलाई एक दिन घटाएर असोज ३० गतेसम्म कायम गरिएको थियो।
अब बिहीबारदेखि उपभोक्ताले सम्बन्धित ब्रान्डका अधिकृत डिलरबाटै ग्यास खरिद गर्नुपर्नेछ।
चाडपर्वका बेला खाना पकाउने ग्यासको माग बढिरहेका समयमा संयुक्त बिक्री व्यवस्था बन्द भएपछि उपभोक्ताले फेरि पुरानै वितरण प्रणालीअनुसार ग्यास लिनुपर्ने भएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।