मुस्ताङ । बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएपछि कोरलानाकाबाट नेपाल भित्रिएका २ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) गन्तव्यमा पुर्याउन समस्या भएको छ । सडक सञ्चालनमा आए पनि अवस्था सहज नहुँदा ती सवारी मुस्ताङका विभिन्न स्थानमा रोकिएका हुन् ।
सशस्त्र प्रहरीका अनुसार कोरलानाकाको खुला क्षेत्रमा २ हजारभन्दा बढी र न्हेचुङस्थित भन्सार यार्डमा २०० भन्दा बढी इभी पार्किङमा राखिएका छन् । त्यस्तै, भन्सार जाँचपासपछि जोमसोम ल्याइएका करिब ५०० भन्दा बढी विद्युतीय गाडी दुईवटा पार्किङस्थलमा राखिएका छन् ।
बिवाइडी कम्पनीका २ हजारभन्दा बढी गाडी मुस्ताङमै रोकिएको साइमेक्स इङ्कका प्रतिनिधि दीपक बुढाथोकीले जानकारी दिए । उनका अनुसार असोज ११ गतेअघि करिब ४५० गाडी गन्तव्यमा पठाइए पनि त्यसपछि सडकको अवस्थाका कारण ढुवानी प्रभावित भएको छ । रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलानाकाबाट करिब ३ हजार विद्युतीय गाडी भित्र्याउने कम्पनीको योजना छ ।
यसैबीच, सोमबारसम्म कोरलानाकाबाट आयातित मालवस्तु बोकेका ६०० भन्दा बढी कन्टेनर मुस्ताङबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् । रोकिएका कन्टेनर बाहिरिएसँगै सामान ढुवानीका लागि केही खाली कन्टेनर कोरलानाकातर्फ उकालो लागेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।