काठमाण्डौ । आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३’ मा प्लेटिनम प्रायोजकको संख्या तीन पुगेको छ। आधुनिक कृषि प्रविधि तथा उपकरणको क्षेत्रमा सक्रिय नेपाल ट्रेड होस्ट प्रालि र शलोम एग्रिकल्चर प्रालि प्लेटिनम प्रायोजकका रूपमा प्रदर्शनीमा जोडिएका हुन्।
यसअघि जी–सेभेन एग्रिकल्चर प्रालि प्लेटिनम प्रायोजक बनेको थियो। अब तीनवटै कम्पनीले प्रदर्शनीसँग सहकार्य गर्ने भएका छन्।
‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ हुन लागेको आठौँ संस्करणको प्रदर्शनीले आधुनिक कृषि यान्त्रीकरण, नवीन प्रविधि तथा उपकरणको प्रयोग विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
विश्वप्रसिद्ध ब्रान्डका साना, मझौला तथा ठूला कृषि यन्त्र तथा उपकरण नेपाली किसानसम्म पुर्याउँदै आएको नेपाल ट्रेड होस्टले कृषि कार्यलाई सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउन काम गर्दै आएको छ।
त्यस्तै, १५ वर्षभन्दा बढी अनुभव भएको शलोम एग्रिकल्चरले मल्चिङ, ग्रीनहाउस, सेड नेट, असिना छेक्ने जाली, थोपा तथा फगर सिँचाइ र स्प्रिंकलर प्रणाली उपलब्ध गराउँदै आएको छ। कम्पनीले कोकोपिट, पिटमस तथा बायोमिनरल मललगायतका कृषि सामग्रीको आपूर्ति र प्रवर्द्धनमा समेत काम गर्दै आएको छ।
अर्को प्लेटिनम प्रायोजक जी–सेभेन एग्रिकल्चर विशेषगरी थोपा सिँचाइ, स्प्रिंकलर र आधुनिक ग्रीनहाउस प्रविधिमा सक्रिय छ। कम्पनीले हाल ६५ भन्दा बढी जिल्लामा सेवा विस्तार गरेको जनाएको छ। कम्पनीसँग ६० जनाभन्दा बढी प्राविधिक तथा विशेषज्ञ कार्यरत छन् भने देशभर ६० भन्दा बढी डिलर तथा सेवा साझेदारमार्फत सेवा दिइँदै आएको छ।
प्रदर्शनी कृषि विभागअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजनामा हुनेछ। बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहनेछ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सहयोगी संस्थाका रूपमा सहभागी हुनेछन्।
प्रदर्शनी हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। नामियाका सचिव श्रीकृष्ण अधिकारीका अनुसार प्रदर्शनीमार्फत किसान, कृषि उद्यमी तथा व्यवसायीलाई आधुनिक कृषि यन्त्र, उपकरण र नवीनतम प्रविधिसँग प्रत्यक्ष जोड्ने प्रयास गरिनेछ।
यसले नेपाली कृषिलाई थप आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै कृषि यान्त्रीकरणको दायरा विस्तार गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।