काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आर्थिक वर्ष २०८२/८३ मा ४१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको १५औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।
असोज २८ गते काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गरेको हो।
बोनस सेयर वितरणपछि एनसीएचएलको चुक्ता पुँजी १ अर्ब ६७ करोड ७२ लाख ८८ हजार २०० रुपैयाँ पुग्नेछ।
कम्पनीका अनुसार थपिएको पुँजी राष्ट्रिय भुक्तानी प्रणाली विस्तार, राष्ट्रिय तथा अन्तरदेशीय कारोबारका लागि नयाँ भुक्तानी प्रणाली विकास, डिजिटल भुक्तानी पूर्वाधार विस्तार, जोखिम व्यवस्थापन सुदृढीकरण तथा सञ्चालनमा रहेका प्रणालीको स्तरोन्नतिमा प्रयोग गरिनेछ।
गत आर्थिक वर्ष एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीमार्फत कुल २१० खर्ब रुपैयाँ बराबरका २३ करोड ८२ लाख कारोबार राफसाफ भएका छन्। कारोबार संख्या र रकमका आधारमा करिब १३ प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ।
कारोबार विस्तारसँगै कम्पनीको सञ्चालन आम्दानी ७ प्रतिशतले बढेको छ। यद्यपि खुद नाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशतले घटेर ४१ करोड रुपैयाँमा सीमित भएको छ।
छुट्टै टेक कम्पनी खोल्ने तयारी
साधारणसभाले बैंकिङ, वित्तीय तथा भुक्तानीसम्बन्धी प्रविधिमा अनुसन्धान, सफ्टवेयर विकास, जडान तथा अन्य प्राविधिक सेवा उपलब्ध गराउने उद्देश्यसहित छुट्टै पब्लिक लिमिटेड कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ।
प्रस्तावित कम्पनीले वित्तीय क्षेत्रका लागि आवश्यक प्रविधि तथा सफ्टवेयर विकास र जडानसम्बन्धी काम गर्ने एनसीएचएलले जनाएको छ।
एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकहरूबाट तीन जना तथा विकास बैंक र वित्त कम्पनीबाट एक–एक जना प्रतिनिधि रहने व्यवस्था छ। एक जना स्वतन्त्र सञ्चालकसमेत रहनेछन्।
कम्पनीमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत तथा बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ।
एनसीएचएलले हाल NCHL-ECC, NCHL-IPS, EFT Card Switch, National Payment Switch अन्तर्गत NPS-NCS तथा RPS, NPI र NPIx लगायतका प्रणाली सञ्चालन गर्दै आएको छ। त्यस्तै connectIPS, CORPORATEPAY, connectRTGS, NEPALPAY QR तथा NEPALPAY Card लगायतका भुक्तानी उपकरणसमेत सञ्चालनमा छन्।
हाल नेपाल राष्ट्र बैंकसहित ५३ बैंक तथा वित्तीय संस्था र १५० भन्दा बढी गैरबैंकिङ संस्था एनसीएचएलमा प्रत्यक्ष तथा प्राविधिक सदस्यका रूपमा आबद्ध छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।