काठमाण्डौ । दसैंको चहलपहलसँगै मौसम पनि क्रमशः खुल्ने संकेत देखिएको छ। नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएपछि चाडपर्वका मुख्य दिनमा मौसम समग्रमा अनुकूल रहने आकलन गरिएको छ। यद्यपि पश्चिमी वायुको प्रभावले आज र भोलि केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्नेछ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार असोज २८ गतेदेखि देशभरबाट मनसुन बाहिरिएको जनाएको छ। सामान्यतः अक्टोबर २ मा बाहिरिने मनसुन यस वर्ष औसतभन्दा १२ दिन ढिलो गरी अक्टोबर १४ मा बिदा भएको हो।
मनसुनको बहिर्गमन भने असोज १७ गतेदेखि नै सुरु भएको थियो। सुरुमा सुदूरपश्चिम र कर्णालीसहित लुम्बिनीका पश्चिमी भूभागका धेरै स्थान तथा गण्डकीका पश्चिमी भूभागका थोरै स्थानबाट हटेको मनसुन बुधबारसम्म आइपुग्दा देशभरबाट बाहिरिएको हो।
दुई दिन छिटपुट वर्षा, त्यसपछि सुधार
मनसुन हटेसँगै नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव कायम रहेको मौसमविद् सञ्जिव अधिकारीले बताएका छन्। उनका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज र भोलि दिउँसो केही स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज मध्यदेखि पश्चिमी क्षेत्रका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्छ। भोलि उक्त प्रणालीको प्रभाव पूर्वतर्फ फैलिँदा पूर्वी हिमाली क्षेत्रमा समेत सामान्य वर्षाको सम्भावना रहेको उनले बताए। पहाडी भूभागमा पनि यी दुई दिन छिटपुट पानी पर्न सक्नेछ।
पर्सीदेखि भने उक्त प्रणाली कमजोर हुँदै जाने र मौसम क्रमशः सुधार हुने अधिकारीको भनाइ छ। उनका अनुसार दसैं अवधिमा समग्र मौसम त्यति प्रतिकूल हुने देखिएको छैन।
यसले दसैंमा घर फर्कने, आफन्तकहाँ टीका थाप्न जाने तथा घुमघामको योजना बनाएकाहरूलाई मौसमका दृष्टिले केही सहजता हुने संकेत दिएको छ। तर मनसुनको बहिर्गमनसँगै वर्षाको सम्भावना पूर्ण रूपमा सकिने भने होइन। स्थानीय र पश्चिमी वायुका कारण ठाउँअनुसार छोटो अवधिको बदली तथा वर्षा हुन सक्छ।
महाशाखाले दसैंका लागि विशेष मौसम बुलेटिन र साप्ताहिक पूर्वानुमानसमेत सार्वजनिक गर्ने भएकाले त्यसबाट चाडपर्वका दिनको मौसमी अवस्था थप स्पष्ट हुनेछ। सर्वसाधारण तथा सरोकारवाला निकायलाई पछिल्लो मौसमी सूचना हेरेर आफ्ना गतिविधि तय गर्न महाशाखाले अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।