काठमाडौँ । बडादसैँ मनाउन घटस्थापनादेखि आज बिहानसम्म तीन लाख ४८ हजार ३१४ यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार असोज २५ गतेदेखि २९ गतेसम्म मात्रै तीन लाख ४८ हजार ३१४ यात्रु बाहिरिएका हुन्। तीमध्ये असोज २९ गते सबैभन्दा बढी ८५ हजार ५६१ यात्रु बाहिरिएका थिए।
यात्रुको चाप बढेसँगै सडक अवरोधका कारण सवारीसाधन व्यवस्थापनमा समस्या भइरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष राजेन्द्र आचार्यले बताए। धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिँदा पनि यातायात सञ्चालन प्रभावित भएको थियो।
ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँका लागि हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन्। महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।