काठमाण्डौ । सरकारले नेपाल प्रहरीलाई समयानुकूल, प्रविधिमैत्री र व्यावसायिक संगठनका रूपमा रूपान्तरण गर्ने तयारी अघि बढाएको छ। प्रहरीको जनशक्ति अभाव सम्बोधन गर्न दरबन्दी थप्ने, आधुनिक प्रविधिमा लगानी बढाउने र अनुसन्धान क्षमतालाई सुदृढ बनाउने दिशामा सरकारले काम गरिरहेको जनाएको छ।
९३औँ प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनको संरचना र व्यवस्थापनसम्बन्धी अध्ययनका आधारमा थप दरबन्दी सिर्जना गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिए।
उनका अनुसार नागरिकको आवश्यकता, राज्यको बदलिँदो सुरक्षा चुनौती र प्रहरीमाथि बढ्दो कार्यबोझलाई ध्यानमा राखेर संगठनलाई थप सक्षम बनाउने तयारी भइरहेको छ। प्रहरीका लागि आवश्यक पूर्वाधार र प्रविधिमा लगानी गर्नु सरकारको प्राथमिकतामा रहेको उनले बताए।
गृहमन्त्री लेखकले संवेदनशील सूचनामा नागरिकको पहुँच सुनिश्चित गर्दा व्यक्तिगत गोपनीयता र सूचनाको सुरक्षाबीच सन्तुलन कायम गर्नुपर्नेमा पनि जोड दिए। उनले जिम्मेवार निकाय र सरोकारवाला क्षेत्रलाई सूचना व्यवस्थापन र गोपनीयताको विषयमा थप सचेत भएर काम गर्न निर्देशन दिएका छन्।
प्रहरीको अनुसन्धान क्षमता अभिवृद्धि गर्न कृत्रिम बौद्धिकता (एआई), डिजिटल फरेन्सिक, साइबर तथा वित्तीय अपराध अनुसन्धान, ह्युमन फरेन्सिक र डीएनए प्रोफाइलिङजस्ता क्षेत्रमा दक्ष जनशक्ति र प्रविधि विकास गर्नुपर्ने उनको भनाइ छ।
उनले बदलिँदो अपराधको स्वरूपसँग जुध्न परम्परागत अनुसन्धान पद्धतिमात्र पर्याप्त नहुने संकेत गर्दै आधुनिक प्रविधि र विशेषज्ञतामा आधारित अनुसन्धान प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा गृहमन्त्री लेखकले नागरिकले राज्यसँग राखेको अपेक्षा पूरा गर्न प्रहरी संगठनले आफ्नो कामकारबाहीलाई थप व्यावसायिक, जवाफदेही र परिणाममुखी बनाउनुपर्ने बताए। “नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्नुपर्छ,” भन्ने सन्देश दिँदै उनले प्रहरीको आचरण र कार्यशैलीले नै संगठनप्रतिको विश्वास निर्धारण गर्ने बताए।
उनले प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनी सुधारसमेत अघि बढाइएको जानकारी दिए। प्रहरीलाई उत्प्रेरित गर्न सेवासुविधा विस्तार गर्ने विषयमा पनि सरकारले पहल गरिरहेको उनको भनाइ छ।
आवास, स्वास्थ्यलगायतका सेवा सुविधालाई व्यवस्थित र विस्तार गर्ने तथा प्रहरी कर्मचारीको मनोबल बढाउने गरी कार्यक्रम अघि बढाउने सरकारको योजना रहेको उनले बताए।
सरकारले दरबन्दी विस्तार, कानुनी सुधार, प्रविधि र पूर्वाधारमा लगानी तथा अनुसन्धान क्षमताको आधुनिकीकरणलाई सँगसँगै अघि बढाए नेपाल प्रहरीको सेवा प्रवाह र अपराध अनुसन्धानको प्रभावकारिता थप सुदृढ हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।