काठमाण्डौ । बाढीपहिरोलगायत प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति पुर्याएको परिस्थितिलाई ध्यानमा राख्दै प्रमुख राजनीतिक दलहरूले यस वर्ष दसैँ, तिहार र छठका अवसरमा केन्द्रस्तरमा औपचारिक चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायत प्रमुख दलहरूले विगतका वर्षमा जस्तो केन्द्रमा ठूला चियापान कार्यक्रम आयोजना गर्ने तयारी गरेका छैनन्। बाढीपहिरोबाट प्रभावित नागरिक राहत, पुनर्स्थापना र पुनर्निर्माणको पर्खाइमा रहेका बेला उत्सवमुखी कार्यक्रम नगर्ने मनस्थितिमा दलहरू पुगेका हुन्।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार केन्द्रमा दसैँ–तिहारका अवसरमा चियापान वा शुभकामना आदानप्रदान कार्यक्रम गर्नेबारे अहिलेसम्म कुनै निर्णय भएको छैन। यद्यपि प्रदेश तथा जिल्लास्तरमा स्थानीय आवश्यकताअनुसार कार्यक्रम गर्न रोक लगाइएको छैन।
नेपाली कांग्रेसले पनि यस वर्ष केन्द्रमा चियापान आयोजना गर्ने निर्णय गरेको छैन। पार्टीका नेताहरूका अनुसार महाधिवेशनलगायत आन्तरिक राजनीतिक गतिविधिका कारणसमेत चियापान कार्यक्रमबारे औपचारिक निर्णय हुन सकेको छैन।
नेकपा एमालेले पनि यसपालि चियापान तथा शुभकामना कार्यक्रम गर्ने निर्णय गरेको छैन। एमालेले लामो समयदेखि दसैँको पूर्णिमाका दिन चाडपर्व लक्षित चियापान गर्दै आएको भए पनि पछिल्ला केही वर्ष नियमित रूपमा यस्तो कार्यक्रम गर्न सकेको छैन।
नेपाली कम्युनिस्ट पार्टीले भने भोटेकोशी, बूढीगण्डकीलगायत क्षेत्रमा आएको विनाशकारी बाढीलाई कारण देखाउँदै केन्द्रमा दसैँ–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने निर्णय गरिसकेको छ। पार्टी प्रवक्ता प्रकाश ज्वालाले विपद्को अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको बताएका छन्।
यस वर्ष बाढीपहिरोले देशका विभिन्न भागमा ठूलो क्षति पुर्याएको छ। विशेषगरी भोटेकोशी–त्रिशूली क्षेत्रको बाढीपछि राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई लिएर सरकार तथा राजनीतिक दलहरूबीच पटक–पटक छलफलसमेत हुँदै आएको छ।
यसरी विगतमा राजनीतिक भेटघाट, शुभकामना आदानप्रदान र शक्ति प्रदर्शनको अवसरका रूपमा समेत हेरिने दसैँ–तिहारको चियापान कार्यक्रम यस वर्ष प्रमुख दलहरूको केन्द्रीय क्यालेन्डरबाट लगभग बाहिरिने भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।