काठमाण्डौ । निर्वाचन आयोगले अद्यावधिकसहितको अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। नयाँ नाम दर्ता, विवरण सच्याउने, ठेगाना स्थानान्तरण गर्ने तथा मृत्यु वा दोहोरो विवरण हटाउने प्रक्रिया पूरा गरेपछि आयोगले असोज ३० गते अन्तिम नामावली प्रकाशन गरेको हो।
अन्तिम मतदाता नामावलीअनुसार देशभर कुल मतदाता संख्या १ करोड ९० लाख ९१ हजार ३७५ पुगेको छ। जसमध्ये पुरुष ९७ लाख ६९ हजार ८२५, महिला ९३ लाख २१ हजार ३३६ र अन्य समूहका २१४ जना छन्।
यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि कायम अन्तिम नामावलीमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए। त्यसको तुलनामा अहिलेको अन्तिम नामावलीमा १ लाख ८७ हजार ६८६ मतदाता थपिएका छन्।
निर्वाचन आयोगले २०८२ चैत २२ गतेदेखि मतदाता नामावली अद्यावधिकको काम नियमित रूपमा सञ्चालन गरेको थियो। यस अवधिमा नयाँ नाम दर्ता, विवरण सच्याउने, ठेगाना सार्ने तथा मृत्यु भएका व्यक्तिको नाम हटाउने लगायतका काम गरिएको थियो।
आयोगले २०८३ भदौ १५ गतेसम्म नाम दर्ता गरेका र सोही मितिसम्म १८ वर्ष उमेर पूरा गरेका व्यक्तिलाई समेटेर असोज १ गते प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको थियो। प्रारम्भिक नामावलीमा कुल १ करोड ९२ लाख ९४ हजार ९६१ जनाको विवरण समावेश थियो।
उक्त अवधिमा १८ वर्ष उमेर पूरा गरेका ४ लाख ३० हजार ३५२ जनाको नाम मतदाता सूचीमा थपिएको थियो। त्यस्तै नियमित अद्यावधिक क्रममा मृत्यु, दोहोरो नाम तथा नागरिकता त्याग वा रद्द भएका कारण ३९ हजार ८० जनाको नाम हटाइएको थियो।
प्रारम्भिक नामावली प्रकाशित भएपछि दाबी–विरोध तथा विवरण जाँचको प्रक्रिया अघि बढाइएको थियो। त्यसक्रममा मृत्यु भएका ४५ हजार ३२२ जना तथा दोहोरो नाम, नागरिकता त्याग वा रद्द र अन्य कारणबाट थप १ लाख ५८ हजार २६४ जनाको नाम हटाइएको आयोगले जनाएको छ।
यसरी प्रारम्भिक सूचीबाट कुल २ लाख ३ हजार ५८६ जनाको नाम हटाएर अन्तिम मतदाता नामावली कायम गरिएको हो।
आयोगले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र तथा स्थानीय तहअनुसारको मतदाता विवरणसमेत आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।