आईतवार, कार्तिक १,२०८३ 04:52:20
  • आईतवार, कार्तिक १,२०८३ 04:52:20
Global IME Bank Limited

२१ दिनपछि खुल्यो कालीगण्डकीको विद्युत् मार्ग, १७० मेगावाट फेरि राष्ट्रिय प्रणालीमा

Bizshala
२१ दिनपछि खुल्यो कालीगण्डकीको विद्युत् मार्ग, १७० मेगावाट फेरि राष्ट्रिय प्रणालीमा
New Office

काठमाडौं । बाढीपहिरोले प्रसारण लाइन क्षतिग्रस्त बनाएपछि तीन सातादेखि राष्ट्रिय प्रणालीमा पुग्न नसकेको निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाको १७० मेगावाट विद्युत् पुनः जोडिएको छ। कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी दाना–राहुघाट प्रसारण खण्ड अस्थायी रूपमा सञ्चालनमा आएपछि अवरुद्ध विद्युत् प्रवाह खुलेको हो।

नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (ईआरएस) टावर जडान गरी शनिबार राति सवा १० बजे उक्त खण्डको एउटा सर्किट चार्ज गरेको छ। यससँगै म्याग्दीको दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका आयोजनाहरूको विद्युत् प्रवाहमा कायम २१ दिन लामो अवरोध हटेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरमा रहेका चारवटा प्रसारण टावरमा क्षति पुर्‍याएको थियो। टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने २२ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो।

एउटै खण्डका चार टावर प्रभावित हुँदा पाँच आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीसम्म पुर्‍याउने बाटो रोकिएको थियो। स्थायी टावर पुनर्निर्माणमा समय लाग्ने भएपछि प्राधिकरणले ईआरएस टावरमार्फत वैकल्पिक संरचना तयार गरी विद्युत् प्रवाह खुलाएको हो।

दुर्गम भूगोलमा आपत्कालीन टावरको सहारा

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार कर्मचारीको अहोरात्र खटाइ र निजी क्षेत्रका जलविद्युत् आयोजनासँगको सहकार्यबाट प्रसारण लाइन पुनः सञ्चालनमा ल्याउन सम्भव भएको हो।

भौगोलिक रूपमा जटिल र दुर्गम स्थानमा ईआरएस टावर जडान गर्नु चुनौतीपूर्ण भए पनि निरन्तरको प्रयासबाट काम सम्पन्न गरिएको उनले बताए। तत्कालका लागि एउटा सर्किट सञ्चालनमा ल्याएर अवरुद्ध विद्युत् राष्ट्रिय प्रणालीमा पठाउने व्यवस्था मिलाइएको छ।

यो पुनःस्थापनाले जलविद्युत् उत्पादनसँगै त्यसलाई बजारसम्म पुर्‍याउने प्रसारण पूर्वाधारको निरन्तरता कति महत्वपूर्ण छ भन्ने पनि देखाएको छ। आयोजनामा विद्युत् उत्पादन भए पनि प्रसारण मार्ग अवरुद्ध हुँदा त्यसको उपयोग प्रभावित हुने अवस्था दाना–राहुघाट खण्डमा देखिएको थियो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

विद्युत् प्रवाह खुल्यो, स्थायी पुनर्निर्माण बाँकी

अस्थायी संरचनाबाट विद्युत् प्रवाह सुरु भए पनि क्षतिग्रस्त टावरको स्थायी पुनर्निर्माण भने बाँकी छ। प्राधिकरणको पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काका अनुसार स्थायी टावर निर्माणको प्रक्रिया अगाडि बढाइएको छ।

स्थायी संरचना तयार भएपछि दाना–राहुघाट खण्ड नियमित अवस्थामा सञ्चालनमा आउनेछ। हाल प्रयोग गरिएका ईआरएस टावरले पुनर्निर्माण अवधिमा विद्युत् प्रवाह कायम राख्नेछन्।

कालीगण्डकी तथा यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको उत्पादन एकीकृत गरी राष्ट्रिय प्रणालीमा पुर्‍याउने उद्देश्यले कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना सबस्टेसनबाट सुरु हुने यो लाइन पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र रुपन्देही हुँदै पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्छ। करिब १३० किलोमिटर लामो प्रसारण लाइनको विद्युत् प्रवाह क्षमता करिब १ हजार २०० मेगावाट छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.