काठमाण्डौ । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ। कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगितामा सहकार्य गर्न बैंक र जनकपुर बोल्ट्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
बैंकले यस साझेदारीमार्फत नेपाली क्रिकेटको विकासमा सहयोग गर्दै समुदायसँगको सम्बन्ध विस्तार गर्ने जनाएको छ। स्थानीय खेल प्रतिभालाई प्रोत्साहन र युवा सशक्तीकरणमा योगदान पुर्याउनु पनि सहकार्यको उद्देश्य रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले क्रिकेटमार्फत समुदायसँग जोडिन र प्रतिभाशाली युवालाई अघि बढाउन बैंक प्रतिबद्ध रहेको बताए। एनपीएलको तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित अघि बढेको जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ।
जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले समुदायसँग निकट सम्बन्ध रहेको मुक्तिनाथ विकास बैंकलाई आधिकारिक बैंकिङ साझेदारका रूपमा पाउनु टोलीका लागि महत्वपूर्ण भएको बताए।
बैंकको ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ’ भन्ने सोच र मधेशका जनतासँग जोडिने जनकपुर बोल्ट्सको प्रयासबीच समानता रहेको उनले उल्लेख गरे। यस सहकार्यले मधेशका युवा प्रतिभालाई प्रोत्साहन गर्ने दुवै संस्थाको साझा प्रतिबद्धता थप बलियो बनाउने उनको विश्वास छ।
एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले यसपटक पुनः उपाधि जित्ने लक्ष्य राखेको छ। खतिवडाले मुक्तिनाथ विकास बैंकको साथले टोलीलाई मैदानभित्र र बाहिर दुवैतर्फ थप ऊर्जा दिने बताए।
बैंकले साझेदारीलाई खेलकुदमार्फत समुदायसँगको सम्बन्ध विस्तार गर्ने र नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान दिने अवसरका रूपमा लिएको जनाएको छ। ग्राहककेन्द्रित सेवा, नवीनता र वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्ने प्रतिबद्धतासमेत बैंकले व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।