काठमाण्डौ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। तीमध्ये मादक पदार्थ सेवन र तीव्र गतिमा सवारी चलाउनेको संख्या मात्रै २१४ रहेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार शनिबार तीव्र गतिमा सवारी चलाउने ११५ र मादक पदार्थ सेवन गरी चलाउने ९९ चालकलाई कारबाही गरिएको हो।
यस्तै, रातो बत्तीको संकेत उल्लङ्घन गर्ने ३७ चालक कारबाहीमा परेका छन्। सीसी क्यामराको निगरानीमार्फत नियम उल्लङ्घन गरेको पहिचान भएका थप ४० चालकलाई पनि कारबाही गरिएको सुवेदीले जानकारी दिए।
हर्नसम्बन्धी नियम उल्लङ्घन गर्ने नौ, लेन अनुशासन पालना नगर्ने दुई र एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी चलाउने सात चालकसमेत कारबाहीमा परेका छन्। अन्य कसुरमा १६१ चालकलाई कारबाही गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले दशैंका बेला सवारी नियम उल्लङ्घन गर्ने चालकमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।