काठमाण्डौ । दशैं सकिएसँगै काठमाण्डौमा कुखुरा र त्यसको मासुको मूल्य घटाइएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सोमबार कात्तिक ९ गतेदेखि लागू हुने गरी जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ र तयारी मासुको मूल्य १५ रुपैयाँ घटाएको हो।
नयाँ दरअनुसार जिउँदो कुखुरा प्रतिकिलो २८० रुपैयाँ कायम गरिएको छ। दशैंअघि यसको मूल्य प्रतिकिलो २९० रुपैयाँ थियो।
त्यस्तै, प्रतिकिलो ४०० रुपैयाँमा बिक्री हुँदै आएको तयारी मासुको मूल्य अब ३८५ रुपैयाँ तोकिएको संघले जनाएको छ।
संघका अनुसार बजारमा माग र खपत घटेपछि मूल्य समायोजन गरिएको हो। दशैंमा कुखुराको तुलनामा खसीबोकाको मासुको प्रयोग बढी हुने भएकाले पनि कुखुराको मासुको माग प्रभावित भएको संघको भनाइ छ।
चाडपर्व मनाउन उपत्यकाबाहिर गएका धेरै मानिस अझै फर्किन बाँकी रहेकाले काठमाण्डौमा उपभोक्ताको चहलपहल कम छ। मानिसको उपस्थिति घटेसँगै मासुको खपत पनि कम भएकाले जिउँदो कुखुरा र तयारी मासु दुवैको भाउ घटाउनुपरेको संघले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।