काठमाडौं । नेपाली क्रिकेटको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ ५ बजे हुने उद्घाटन खेलमा गत संस्करणका फाइनल प्रतिस्पर्धी लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।
प्रतियोगितामा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौं गोर्खाज गरी आठ टोली सहभागी हुनेछन् । एनपीएल मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
यसपटक विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेतालाई ८० लाख, तेस्रो हुने टोलीलाई ४० लाख र चौथो हुने टोलीलाई ३० लाख रुपैयाँ प्रदान गरिने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । अघिल्लो संस्करणको विजेता लुम्बिनी र पहिलो संस्करणको विजेता जनकपुरले समान १ करोड १० लाख रुपैयाँ पाएका थिए ।
आईसीसीको मान्यतासँगै यस संस्करणमा मोइन अली, शाकिब अल हसन, डेविड वार्नर, आन्द्रे रसेल, एन्जेलो म्याथ्युजलगायत चर्चित विदेशी खेलाडी सहभागी हुँदैछन् । विदेशी खेलाडीको उपस्थितिले प्रतियोगिताको आकर्षण र व्यावसायिक सम्भावना थप बढ्ने अपेक्षा गरिएको छ । खेलमा निर्णय समीक्षा प्रणाली (डीआरएस) समेत प्रयोग गरिनेछ ।
क्यानका अनुसार लिग चरणका खेलका लागि साधारण टिकट ५०० र प्रिमियम टिकट १ हजार रुपैयाँ तोकिएको छ । एलिमिनेटर र फाइनलमा साधारण टिकट १ हजार तथा प्रिमियम टिकट २ हजार रुपैयाँ पर्नेछ । टिकट बिक्रीका लागि ईसेवालाई आधिकारिक माध्यम बनाइएको छ ।
प्रतियोगितालाई लक्षित गरी कीर्तिपुरस्थित रंगशालामा सुधार गरिएको छ भने दर्शकको चापलाई ध्यानमा राख्दै सुरक्षा, टिकट जाँच, प्राथमिक उपचार, सरसफाइ र यातायात व्यवस्थापनमा समेत ध्यान दिइएको छ । एनपीएलले होटल, रेस्टुरेन्ट, यातायात, खुद्रा व्यापार तथा विज्ञापनलगायत क्षेत्रमा आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।