काठमाण्डौ । कोका–कोला इन्डियाको बोटलिङ व्यवसाय हेर्ने हिन्दुस्तान कोका–कोला बेभरेजेजको मातृ कम्पनी हिन्दुस्तान कोका–कोला होल्डिङ्सले करिब १ अर्ब अमेरिकी डलर बराबरको आईपीओ ल्याउने तयारी गरेको छ।
मनीकन्ट्रोलले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार कम्पनीले आईपीओ निष्कासनका लागि आवश्यक ड्राफ्ट रेड हेरिङ प्रोस्पेक्टस यही साता भारतीय पूँजीबजार नियामकसमक्ष दर्ता गर्ने सम्भावना रहेको छ।
कम्पनीको सेयर बजारमा औपचारिक सूचीकृत हुने प्रक्रिया भने सन् २०२७ मा हुने सम्भावना रहेको जनाइएको छ। आईपीओ निष्कासन प्रक्रियामा Axis Capital र IIFL Capital Services प्रमुख इन्भेष्टमेन्ट बैंकरका रूपमा सहभागी हुने स्रोतले बताएका छन्।
ब्लुमबर्गको रिपोर्टअनुसार प्रस्तावित आईपीओको आकार करिब १ अर्ब डलर हुनसक्छ। यदि सोही आकारमा आईपीओ निष्कासन भयो भने यो भारतको पेय पदार्थ तथा उपभोक्ता वस्तु क्षेत्रमा ठूलो सार्वजनिक निष्कासनमध्ये एक हुनेछ।
हिन्दुस्तान कोका–कोला बेभरेजेज भारतमा कोका–कोलाका प्रमुख बोटलिङ साझेदारमध्ये एक हो। कम्पनीले कोका–कोलाका विभिन्न ब्रान्डका पेय पदार्थ उत्पादन, प्याकेजिङ तथा वितरण गर्दै आएको छ।
भारतको आईपीओ बजारमा पछिल्लो समय ठूला कम्पनीहरूको प्रवेश बढिरहेका बेला कोका–कोला इन्डियासँग सम्बन्धित यस बोटलरको सम्भावित आईपीओलाई पनि लगानीकर्ताले चासोका साथ हेरिरहेका छन्।
तर आईपीओको वास्तविक आकार, मूल्यांकन र निष्कासन संरचना भने DRHP दर्ता भएपछि थप स्पष्ट हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।