काठमाण्डौ । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध कीर्ते तथा जालसाजी मुद्दा दायर भएको छ।
जनता समाजवादी पार्टी नेपालकी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्न प्रयोग गरिएको पत्र अनधिकृत रूपमा तयार गरिएको दाबी गर्दै दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्।
मुद्दामा सभामुख घर्तीसहित प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, प्रवक्ता लोकमणि पाण्डे तथा सांसद सन्तोषकुमार पाण्डे र अजयकुमार झालाई विपक्षी बनाइएको छ।
काफ्लेले पार्टीको आधिकारिक निर्णय र अख्तियारीबिना लेटरहेड, छाप र पदाधिकारीको नाम प्रयोग गरी पत्र तयार पारिएको र त्यसकै आधारमा आफूलाई पदमुक्त गरिएको दाबी गरेकी छन्।
प्रदेशसभा सचिवालयले भदौ २४ गते काफ्लेको पद रिक्त भएको सूचना जारी गरेको थियो। त्यसविरुद्ध सर्वोच्च अदालत पुगेकी काफ्लेको पक्षमा असोज ६ गते निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको थियो।
काफ्लेले विवादित पत्रलाई अमान्य घोषित गर्न र कीर्ते तथा जालसाजीमा संलग्नमाथि कानुनी कारबाही गर्न माग गरेकी छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।