काठमाण्डौ । नागरिकताको प्रतिलिपि लिन अब नागरिकले आफ्नै गृहजिल्ला धाउनुपर्ने बाध्यता हटेको छ। सरकारले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनाअनुसार नेपाल नागरिकता (पाँचौं संशोधन) नियमावली २०८३ तथा सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार यस्तो व्यवस्था लागू गरिएको हो।
काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकका लागि सेवा विभाजनसमेत गरिएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेश, ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भक्तपुरबाट कोशी र मधेश प्रदेशका जिल्लाबाट जारी भएका नागरिकताको प्रतिलिपि लिन सकिनेछ।
प्रतिलिपि जारी गर्दा सम्बन्धित नागरिकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (CCIMS) मा रहेको विवरणसँग मिल्नुपर्ने प्रशासनले जनाएको छ।
अभिलेख नभेटिएमा, विवरण फरक परेमा वा नागरिकतामाथि शंका देखिएमा भने नागरिकता जारी भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमै सम्पर्क गर्नुपर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।