काठमाण्डौ । कुनै समय तेह्रथुमका गाउँबस्तीमा असारदेखि भदौको पहिलो सातासम्म कोदो रोप्ने चटारो हुन्थ्यो। खेतबारीमा पर्म र खेतलाको भरमा सामूहिक रूपमा खेती गर्ने परम्परा थियो। तर अहिले श्रमिक अभाव, युवाको बसाइँसराइ र नगदेबालीतर्फ किसानको बढ्दो आकर्षणसँगै कोदो खेतीको क्षेत्रफल क्रमशः घट्दै गएको छ।
विगतमा किसानले केही रोपनीदेखि ७०–८० रोपनीसम्म जमिनमा कोदो लगाउने गर्थे। मकैसँगै कोदो खेती गर्ने चलन व्यापक थियो। उत्पादित कोदोबाट ढिँडो, रोटी र खोले बनाएर खाने तथा अतिरिक्त उत्पादन बिक्री गर्ने गरिन्थ्यो।
अहिले भने गाउँको कृषि संरचना नै बदलिएको छ। खेतीको मुख्य समयमा काम गर्ने जनशक्ति पाउन कठिन भएको छ भने एकअर्काको खेतमा पालैपालो काम गर्ने पर्मको परम्परा पनि कमजोर बन्दै गएको छ।
छथर गाउँपालिका–२ फयाकका किसान टंकबहादुर कार्कीका अनुसार पहिले कोदो रोप्ने मौसममा खेतला र पर्मका लागि गाउँमै पर्याप्त जनशक्ति उपलब्ध हुन्थ्यो। अहिले युवा रोजगारी र शिक्षाका लागि सहर तथा विदेश जान थालेपछि खेतीमा काम गर्ने मानिसको अभाव चर्किएको छ।
उनका अनुसार श्रम धेरै लाग्ने तर प्रतिफल तुलनात्मक रूपमा कम हुने भएकाले किसानले पनि कोदो खेतीलाई प्राथमिकतामा राख्न छाडेका छन्।
स्थानीय किसान अग्रबहादुर कार्की पनि गाउँमा खेती गर्ने युवा घट्दै गएको र कोदो खेतीमा धेरै मिहिनेत लाग्ने भएकाले यसको क्षेत्रफल खुम्चिएको बताउँछन्। नगदेबालीबाट नियमित आम्दानी हुन थालेपछि किसान अलैँची, अदुवा, अम्लिसो, तरकारीलगायत बालीतर्फ आकर्षित भएका छन्।
परिवारको दैनिक खर्च, बालबालिकाको शिक्षा र स्वास्थ्य उपचारका लागि नगद आम्दानीको आवश्यकता बढ्दै जाँदा परम्परागत खाद्यबालीभन्दा बजारमा तत्काल बिक्री हुने बाली रोज्ने प्रवृत्ति बढेको स्थानीय किसानहरूको अनुभव छ।
यद्यपि कोदो खेती घट्दै गए पनि यसको बजार सम्भावना भने नयाँ स्वरूपमा देखिन थालेको छ। परम्परागत ढिँडो र रोटीमा सीमित रहेको कोदो अहिले म:म:, बिस्कुट, केक तथा अन्य परिकारमा प्रयोग हुन थालेको छ।
गहुँको पिठोसँग निश्चित अनुपातमा कोदोको पिठो मिसाएर म:म:को बाहिरी खोल बनाउन सकिने भएकाले होटल तथा रेस्टुरेन्ट क्षेत्रमा यसको व्यावसायिक प्रयोग विस्तार गर्न सकिने सम्भावना देखिएको छ।
धनकुटाको नुनथला भिलेज एन्ड रिसोर्टले कोदोको नयाँ बजार खोजिरहेको एउटा उदाहरण प्रस्तुत गरेको छ। रिसोर्टका सञ्चालक लोकेन्द्र कार्कीका अनुसार त्यहाँ आउने पर्यटकले कोदोको ढिँडो र म:म: रुचाउने गरेका छन्। कोदोबाट बनाइएका बिस्कुटसमेत पर्यटकले कोशेलीका रूपमा लैजाने गरेका छन्।
यसले कोदोलाई परम्परागत खाद्यबालीका रूपमा मात्र नभई मूल्य अभिवृद्धि गरिएको उत्पादनका रूपमा बजारसँग जोड्न सकिने सम्भावना देखाएको छ।
एकातिर खेती गर्ने जनशक्ति घट्दै जाँदा कोदोको उत्पादन संकटमा पर्दै गएको छ भने अर्कोतिर होटल, पर्यटन र प्रशोधित खाद्य बजारमा यसको माग विस्तार गर्ने अवसर पनि देखिएको छ। किसानको उत्पादनलाई प्रशोधन, ब्रान्डिङ र बजारसँग जोड्न सके घट्दो कोदो खेतीलाई पुनः आर्थिक रूपमा आकर्षक बनाउन सकिने सम्भावना छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।