काठमाण्डौ । ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल वा बीजक जारी गर्न व्यवसायीलाई आग्रह गरेको छ। साथै, उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिल मागेर लिन महासंघले अनुरोध गरेको छ।
नेपाल आयल निगमले एलपी ग्यास बिक्री वितरणमा अनिवार्य बिल जारी गर्ने व्यवस्था मिलाउन दिएको निर्देशनको स्वागत गर्दै महासंघले बुधबार यस्तो आग्रह गरेको हो।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले कात्तिक ९ गते सम्पूर्ण ग्यास उद्योगलाई पत्राचार गर्दै आफ्ना बिक्रेतामार्फत उपभोक्तालाई अनिवार्य बिल दिने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।
ग्यास बिक्रीपछि उपभोक्तालाई बिल वा बीजक नदिइएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन जारी गरेको जनाएको छ।
महासंघले ग्यास कारोबारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन आफूहरूले यसअघि पनि निगमलाई विभिन्न सुझाव दिँदै आएको उल्लेख गरेको छ।
महासंघका अनुसार ग्यास बिक्रीमा अनिवार्य भ्याट बिल वा बीजक जारी गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए कारोबारको पारदर्शिता बढ्नुका साथै उपभोक्ताको हकहित संरक्षणमा पनि सहयोग पुग्नेछ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले सबै ग्यास व्यवसायीलाई निगमको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन्।
महासंघले उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिक्रेतासँग अनिवार्य रूपमा बिल माग्न र बिल लिएर मात्र कारोबार गर्ने बानी बसाल्न अनुरोध गरेको छ।
महासंघले अनिवार्य बिल प्रणालीलाई ग्यास कारोबार व्यवस्थित बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।