–रविन ठकुरी
काठमाण्डौ । सुनको मूल्य ऐतिहासिक उचाइतर्फ उक्लिँदै जाँदा नेपाली सुनचाँदी बजारमा गम्भीर मन्दी देखिएको छ। माग घट्दा कारोबार ५० प्रतिशतसम्म खुम्चिएको छ भने यसको असर सुन आयातदेखि व्यवसायमा आश्रित कालीगढ र मजदुरको आम्दानीसम्म परेको छ।
सुन व्यवसायीका अनुसार अहिलेको मन्दीले कतिपय व्यवसायीलाई पसलको भाडासमेत धान्न कठिन बनाएको छ। सुन व्यवसायमा आश्रित कालीगढको आम्दानी घटेको छ भने केही व्यवसायी तथा कामदार पेशाबाटै पलायन हुने जोखिममा पुगेका छन्।
सामान्यतया दशैं र तिहारजस्ता ठूला चाडपर्वमा सुनको माग र आयात उच्च हुने गर्छ। तर यसपटक चाडपर्वकै समयमा समेत कारोबार अपेक्षाअनुसार बढ्न सकेन। सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँनजिक पुग्दै गर्दा उपभोक्ताको क्रयशक्ति कमजोर बनेको र बजारमा सुनको माग तीव्र रूपमा घटेको व्यवसायी बताउँछन्।
कोटा २५ किलो तर आयात निकै कम
नेपाल बैंकर्स संघको सिफारिसमा सुन व्यवसायीको मागअनुसार बैंकहरूले निश्चित परिमाणमा सुन आयात गर्न पाउँछन्। हाल दैनिक २५ किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था भए पनि पछिल्लो समय औपचारिक माध्यमबाट उक्त कोटाअनुसार सुन आयात हुन सकेको छैन।
नेपाल बैंकर्स संघका अनुसार २०८३ साल असोजमा जम्मा १०० किलो सुन आयात भएको छ। पाँच–छ वर्षअघि असोज महिनामै २०० देखि ३०० किलोसम्म सुन आयात हुने गरेको संघले जनाएको छ।
भदौ महिनामा भने सुन आयात नै भएको थिएन। साउनमा ५० किलो सुन आयात गरिएको थियो।
वार्षिक तथ्यांकले पनि सुन आयात लगातार घट्दो क्रममा रहेको देखाउँछ। आर्थिक वर्ष २०८२/८३ मा १ हजार ४०३ किलो सुन आयात भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा १ हजार ३८३ किलो सुन आयात भएको थियो।
त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा २ हजार ६५० किलो र आर्थिक वर्ष २०७९/८० मा २ हजार ९०० किलो सुन आयात भएको थियो।
पछिल्ला वर्षको तथ्यांकले केही वर्षअघिको तुलनामा सुन आयात उल्लेख्य रूपमा घटेको स्पष्ट देखाउँछ।
बैंकर्स संघका अनुसार व्यवसायीकै माग कमजोर भएकाले सुन आयात घटाइएको हो। मागभन्दा बढी सुन ल्याइए बैंकमै थन्किन सक्ने र त्यसमा होल्डिङ तथा बीमा खर्च थपिने भएकाले व्यवसायीले आवश्यकताभन्दा बढी आयात गर्न नचाहेको संघको भनाइ छ।
‘सुन बैंकमा थन्किँदा अतिरिक्त शुल्क लाग्छ। होल्डिङ लागत र बीमा शुल्कसमेत थपिन्छ,’ संघले जनाएको छ, ‘त्यसैले व्यवसायीले माग नभएको अवस्थामा अनावश्यक रूपमा सुन आयात गर्न चाहँदैनन्।’
सुन महँगिँदा कारोबार आधा घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यका अनुसार पछिल्लो समय सुन व्यवसाय करिब ५० प्रतिशतसम्म खुम्चिएको छ।
‘सुनको भाउ अत्यधिक बढ्दा कारोबार मन्दीमा गएको छ। अहिले हाम्रो व्यवसाय ५० प्रतिशतसम्म डाउन छ,’ शाक्यले भने, ‘हालैको बाढीपहिरो र लगातारको वर्षाले पनि व्यापारमा असर गर्यो। दशैं–तिहारमा समेत अपेक्षित कारोबार हुन सकेन।’
उनका अनुसार अर्थतन्त्रमा देखिएको सुस्ती र सर्वसाधारणको कमजोर क्रयशक्तिले सुनको माग घटाएको छ।
‘जनतासँग खर्च गर्ने पैसा कम भयो। आम्दानी बढ्न सकेन। सुनको मूल्य भने धेरै माथि पुग्यो,’ उनले भने, ‘यस्तो अवस्थामा धेरै मानिसको सुन किन्ने क्षमता नै कमजोर भएको छ।’
सुन व्यवसायमा आएको मन्दीले यस क्षेत्रमा काम गर्ने मजदुरको आम्दानीमा पनि प्रत्यक्ष असर गरेको छ।
शाक्यका अनुसार यसअघि मासिक औसत ४० हजार रुपैयाँसम्म कमाउने कतिपय कालीगढ तथा मजदुरको आम्दानी अहिले २५ हजारदेखि ३० हजार रुपैयाँसम्ममा सीमित भएको छ।
कारोबार नबढे व्यवसायीको पसल भाडा, कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च धान्न कठिन हुँदै जाने उनको भनाइ छ।
अब तिहारपछि विवाहको लगन सुरु हुने भएकाले कारोबार केही सुधार हुने अपेक्षा व्यवसायीले गरेका छन्।
आयातित सुनको ६० प्रतिशत बागमतीमै
आयात गरिएको सुनको बिक्री वितरणमा सरकारले क्षेत्रगत कोटा र प्रक्रिया तोकेको छ।
व्यवस्थाअनुसार नेपाल बैंकर्स संघले आयातित सुनमध्ये ६० प्रतिशत बागमती क्षेत्रमा र ४० प्रतिशत बागमतीबाहेक अन्य क्षेत्रमा बिक्री हुने व्यवस्था मिलाउनुपर्छ।
कुनै क्षेत्रमा छुट्याइएको सुन सात दिनभित्र बिक्री नभएमा उक्त परिमाण अर्को क्षेत्रमा वा हस्तकला व्यवसायीलाई बिक्री गर्न सकिने व्यवस्था छ।
बागमतीबाहिर धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, वीरगञ्ज, जनकपुर, विराटनगर र भद्रपुरबाट अनिवार्य रूपमा सुन बिक्री वितरण गर्नुपर्ने व्यवस्था छ। आवश्यकताअनुसार अन्य व्यापारिक केन्द्रबाट समेत बिक्री गर्न सकिन्छ।
एउटा व्यवसायीले एकपटकमा अधिकतम एक किलो सुन मात्रै खरिद गर्न पाउँछ।
ल्यको प्रत्यक्ष दबाबमा परेको देखिएको छ।
बैंकले १ प्रतिशतभन्दा बढी मार्कअप लिन नपाउने
बैंकहरूले आयातित सुन बिक्री गर्दा आयातदेखि सम्बन्धित क्षेत्रमा पुर्याउँदासम्म लाग्ने प्रत्यक्ष लागतमा अधिकतम १ प्रतिशतभन्दा बढी मार्कअप लिन पाउँदैनन्।
सुन आयातका लागि सिफारिस पाएका बैंकहरूले आपसी सहमतिमा आफ्नो कोटाको सुन अर्को बैंकमार्फत पनि आयात तथा बिक्री गर्न सक्छन्। तर एउटा बैंकले आयात गरेको सुन अर्को बैंकले बिक्री गर्दा समेत १ प्रतिशतभन्दा बढी मार्कअप लिन पाइँदैन।
सुन आयातका लागि प्रतितपत्र एलसी, स्ट्यान्डबाइ एलसी, बैंक ग्यारेन्टी, ड्राफ्ट वा टेलिग्राफिक ट्रान्सफर प्रयोग गर्न सकिन्छ।
दैनिक तोकिएको परिमाण ननाघ्ने गरी आवश्यक सुन एकमुष्ट आयात गर्न सकिने भए पनि आगामी दिनको मागका लागि अग्रिम रूपमा आयात गर्न पाइँदैन।
नेपाल बैंकर्स संघले प्रत्येक सिफारिसमा अघिल्लो सिफारिसको परिमाण, नयाँ सिफारिसपछि कायम हुने कुल परिमाण र सिफारिस लागू रहने मिति स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ। उक्त विवरण नेपाल राष्ट्र बैंकलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
सुनको मूल्य उकालो लागिरहँदा बजारमा माग भने उल्टो दिशामा गएको छ। आयात घट्दै गएको, चाडपर्वमै कारोबार नबढेको र कालीगढको आम्दानीसमेत खुम्चिएको अवस्थाले नेपाली सुन व्यवसाय महँगो मू


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।