काठमाडौं । अछामको मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणको ठेक्का तोडिएको छ। पटक–पटक ताकेता गर्दा पनि कामले गति नलिएपछि सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का अन्त्य गरेको हो।
२०७९ वैशाख १६ गते सम्झौता भएको १० किलोमिटर सडक २०८२ वैशाख १६ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो। म्याद २०८३ वैशाख १६ सम्म थपिए पनि भौतिक प्रगति १९.८३ प्रतिशत मात्रै पुगेको थियो।
३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान रहेको आयोजनाको ठेक्का तोडिएपछि कार्यालयले निर्माण व्यवसायीलाई ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ।
यसैबीच, सडक डिभिजन कार्यालय साँफेबगरले लामो समयदेखि अलपत्र रहेका सडक तथा पुल निर्माणका अन्य पाँचसहित कुल छवटा रुग्ण ठेक्का अन्त्य गरेको छ। ठेक्का तोडिएका योजनामा साँफे–मार्तडी सडक मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत तथा नाली निर्माण, कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक र मंगलसेन–सुवाखाँद–खेतगैरे–जुलिमारे–ढकारी सडक पनि छन्। यीमध्ये केही योजना २०७६ सालदेखि अलपत्र थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।