मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा यस वर्ष सात हजार ३८ मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ। कृषि तथा पशु विकास कार्यालयका अनुसार उत्पादित स्याउको मूल्य एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबर रहेको प्रारम्भिक अनुमान छ।
कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार जिल्लाका पाँच स्थानीय तहको ६६२ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भएको हो। यस वर्ष ९५९ दशमलव ६२ मेट्रिक टन हाइब्रिड र ६ हजार ७८ दशमलव ९२ मेट्रिक टन परम्परागत स्थानीय जातको स्याउ फलेको छ।
उत्पादित स्याउमध्ये ९४ करोड ८० लाख ९२ हजार रुपैयाँ बराबरको स्याउ जिल्ला बाहिर निकासी हुने र १७ करोड ५६ लाख रुपैयाँभन्दा बढीको स्याउ जिल्लाभित्रै खपत हुने अनुमान छ। जिल्लामा हाइब्रिड स्याउको मूल्य प्रतिकेजी २४० रुपैयाँ र स्थानीय स्याउको मूल्य १५१ रुपैयाँ निर्धारण गरिएको छ।
गत वर्ष मुस्ताङमा ६ हजार ६८४ दशमलव ३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। गत वर्षको तुलनामा यस वर्ष ३५४ दशमलव २४ मेट्रिक टन अर्थात् ५ दशमलव २९ प्रतिशतले उत्पादन बढेको कार्यालयले जनाएको छ।
जिल्लामा कुल ९१७ हेक्टर क्षेत्रफलमा स्याउ बगैँचा विस्तार भएको छ। त्यसमध्ये ७६ हेक्टरमा हाइब्रिड र ८४१ हेक्टरमा परम्परागत स्थानीय जातका स्याउ लगाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।