काठमाडौं । जनकपुरधामदेखि भारतको धार्मिक तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल सेवा सञ्चालनका लागि दुवै देशका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच छलफल भइरहेको छ । प्रधानमन्त्री शाहले मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ ।
रामायण सर्किटअन्तर्गत सञ्चालन हुने उक्त रेल सेवामा नेपालतर्फ नेपाली र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षा गर्ने विषयमा सैद्धान्तिक सहमति भइसकेको छ । यसअघि दुवै देशका अधिकारीले जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेका थिए ।
जनकपुरधामलाई भगवान् रामको नगरी अयोध्यासँग प्रत्यक्ष रेलमार्गबाट जोड्दा दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप मजबुत हुनुका साथै धार्मिक पर्यटन र स्थानीय आर्थिक गतिविधि प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।
हाल जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालनमा छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।