काठमाण्डौ । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट ४ करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व संकलन गरेको छ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार गत वर्ष कर्णालीबाट ५८ प्रजातिका जडीबुटी बिक्री तथा निकासी भएका थिए। तीमध्ये सबैभन्दा धेरै राजस्व झ्याउ र जटामसीबाट उठेको छ।
मन्त्रालयका अनुसार १ लाख ८१ हजार ६०९ किलो झ्याउ निकासी हुँदा ९५ लाख ८५ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको छ। झ्याउमा प्रतिकिलो ५० रुपैयाँ राजस्व दर तोकिएको छ।
त्यस्तै ९६ हजार ७९२ किलो जटामसी निकासीबाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ राजस्व उठेको छ। जटामसीमा प्रतिकिलो ७५ रुपैयाँ राजस्व दर कायम गरिएको छ।
उच्च मूल्यको जडीबुटी यार्सागुम्बाबाट समेत ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व संकलन भएको छ। प्रतिकिलो ३१ हजार रुपैयाँ राजस्व दर रहेको यार्सागुम्बा २५१ किलो ६५६ ग्राम बिक्री भएको मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले जानकारी दिए।
यस्तै ३४ हजार ४४५ किलो कटुसी बिक्रीबाट २३ लाख ८१ हजार ६८० रुपैयाँ राजस्व संकलन भएको छ। कटुसीमा प्रतिकिलो ४० रुपैयाँ राजस्व दर तोकिएको छ।
४१ हजार ७३२ किलो सेतक चिनी बिक्रीबाट २० लाख ४६ हजार ५७५ रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ। यसको राजस्व दर प्रतिकिलो २५ रुपैयाँ रहेको छ।
यसैगरी टिमुरबाट १९ लाख ३९ हजार ४०० रुपैयाँ राजस्व उठेको छ। टिमुरमा प्रतिकिलो १० रुपैयाँ राजस्व दर कायम गरिएको छ।
सिलाजितबाट ९ लाख ७७ हजार ८५० रुपैयाँ, सुगन्धवालबाट ९ लाख ५० हजार ५८० रुपैयाँ र रिठ्ठाबाट ९ लाख ४७ हजार ८३८ रुपैयाँ राजस्व संकलन भएको छ। सिलाजितमा प्रतिकिलो ५० रुपैयाँ, सुगन्धवालमा २५ रुपैयाँ र रिठ्ठामा ३ रुपैयाँ राजस्व दर तोकिएको छ।
गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा कुल २१ लाख ५८ हजार ५८२.९४५ किलो जडीबुटी संकलन भएको थियो। त्यसमध्ये १९ लाख ४६ हजार ८७५.७०५ किलो जडीबुटी प्रदेशबाहिर निकासी भएको मन्त्रालयले जनाएको छ।
जडीबुटीको ठूलो भण्डार मानिने कर्णालीमा यार्सागुम्बा, जटामसी, टिमुर, झ्याउ, सिलाजितलगायत बहुमूल्य वनस्पतिको व्यावसायिक संकलन र निकासी हुँदै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।