काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ।
कम्पनीले हाल कायम रहेको संस्थापक सेयरधनीको ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको ३० प्रतिशत स्वामित्व संरचनालाई परिवर्तन गरी क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने तयारी गरेको हो।
कम्पनीको सञ्चालक समितिको २०८३ कात्तिक १२ गते बसेको १६९ औँ बैठकले उक्त स्वामित्व संरचना परिवर्तन गर्ने निर्णय गरेको छ। सो निर्णयअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल बीमा प्राधिकरणसहित सम्बन्धित नियामक निकायबाट स्वीकृति लिइनेछ।
कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशन, २०७७ को दफा ५ को अधीनमा रही स्वामित्व संरचना परिवर्तन गर्न लागेको जनाएको छ।
स्वामित्व संरचना परिवर्तनपछि संस्थापक सेयरधनीको हिस्सा हालको ७० प्रतिशतबाट १९ प्रतिशत बिन्दुले घटेर ५१ प्रतिशतमा झर्नेछ। अर्कोतर्फ सर्वसाधारण सेयरधनीको हिस्सा ३० प्रतिशतबाट बढेर ४९ प्रतिशत पुग्नेछ।
सञ्चालक समितिको निर्णयलाई आगामी वार्षिक साधारणसभामा प्रस्तावका रूपमा पेश गरिने कम्पनीले जनाएको छ। साधारणसभाबाट प्रस्ताव पारित हुनुका साथै नेपाल बीमा प्राधिकरणलगायत नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि नयाँ सेयर स्वामित्व संरचना कार्यान्वयनमा आउनेछ।
कम्पनीले उक्त निर्णयबारे नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सीडीएस एण्ड क्लियरिङ लिमिटेड र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई समेत जानकारी गराएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।