काठमाण्डौ । सरकारले विवरण अद्यावधिक नगरेका, नवीकरण नगरेका तथा कर, शुल्क, दस्तुर, ब्याज र जरिबाना तिर्न बाँकी कम्पनीलाई राहत दिने गरी विशेष छुटको म्याद आगामी पुस मसान्तसम्म थप गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार व्यवसायीको अनुरोध तथा उद्योगी–व्यवसायीले भोग्दै आएका व्यावहारिक समस्यालाई मध्यनजर गर्दै यसअघि २०८३ असोज मसान्तसम्म रहेको छुट सुविधा २०८३ पुस मसान्तसम्म लम्ब्याइएको हो। यससम्बन्धी निर्णय कात्तिक ९ गते भएको मन्त्रालयले जनाएको छ।
कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएर कानुनले तोकेको समयभित्र विवरण पेस नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना तिर्न बाँकी रहेका कम्पनीले यो सुविधा पाउनेछन्।
यस्ता कम्पनीले आफ्नो कारोबार नियमित रूपमा सञ्चालन गर्न वा कम्पनी दर्ता खारेज गर्न चाहे आर्थिक वर्ष २०८२/८३ का लागि कानुनबमोजिम लाग्ने नियमित कर, शुल्क, दस्तुर तथा आवश्यक विवरण आगामी पुस मसान्तभित्र पेस गर्नुपर्नेछ।
तोकिएको समयभित्र प्रक्रिया पूरा गरे त्यसअघिका वर्षमा लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा हुने व्यवस्था गरिएको छ।
सरकारको यो निर्णयले लामो समयदेखि कानुनी प्रक्रिया पूरा गर्न नसकेका तथा कम्पनीको विवरण अद्यावधिक नगरेका व्यवसायीलाई पुनः कानुनी दायरामा आउन सहज बनाउने अपेक्षा गरिएको छ।
सम्बन्धित निकायले यो विशेष छुटको लाभ लिन पुस मसान्तभित्रै आवश्यक विवरण पेस गर्न कम्पनी तथा व्यवसायीलाई आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।