काठमाण्डौ । भारतले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप ३२ मेगावाट बिजुली आफ्नो प्रतिस्पर्धी बजारमा बिक्री गर्न अनुमति दिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना र १८ मेगावाटको मध्य मोदी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे-अहेड मार्केट र रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्न स्वीकृति दिइएको हो।
यी दुई आयोजनाको बिजुली ३१ अगस्ट २०२७ सम्म भारतमा बिक्री गर्न सकिनेछ।
यसअघि भोटेकोशीमा आएको बाढीका कारण भारत तथा बंगलादेशतर्फ निर्यात भइरहेका केही आयोजनाको उत्पादन प्रभावित भएको थियो। त्रिशूली, चिलिमे र देवीघाट जलविद्युत् आयोजनामा क्षति पुगेपछि वैकल्पिक आयोजनाबाट बिजुली निर्यात गर्ने व्यवस्था मिलाइएको थियो।
बंगलादेशतर्फ निर्यात हुने त्रिशूली र चिलिमेको बिजुलीको विकल्पमा भारतले काबेली बी–१ र सोलुखोला जलविद्युत् आयोजनाको बिजुली पठाउन अनुमति दिइसकेको छ।
त्यस्तै देवीघाटको विकल्पमा तल्लो मोदी जलविद्युत् आयोजनाको बिजुली द्विपक्षीय बजारमार्फत बिक्री गर्न स्वीकृति दिइएको छ।
यसअघि काबेली बी–१ को २४.३ मेगावाट, सोलुखोलाको २२.८ मेगावाट र तल्लो मोदीको १९.४ मेगावाट बिजुली भारतको प्रतिस्पर्धी बजारमा बिक्री हुँदै आएको थियो।
नेपालले यसअघि ३७ वटा जलविद्युत् आयोजनाबाट करिब १ हजार २०० मेगावाट बिजुली भारत र बंगलादेशमा निर्यात गर्न अनुमति पाएको थियो।
घारखोला र मध्य मोदीको ३२ मेगावाट थपिए पनि विभिन्न आयोजनामा आएको अवरोध र वैकल्पिक व्यवस्थाका कारण हाल कुल निर्यातयोग्य क्षमता १ हजार १७९ मेगावाटमा सीमित रहेको प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।