काठमाण्डौ । प्राइम कमर्सियल बैंकको खुद ब्याज आम्दानी बढे पनि खराब कर्जा र खर्चको बढ्दो दबाबले नाफा खुम्चिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंकको खुद नाफा ५.६२ प्रतिशतले घट्दा यस अवधिमा आर्जित वितरणयोग्य नाफा भने ४६.७८ प्रतिशतले ओरालो लागेको छ।
बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अन्तरिम वित्तीय विवरणअनुसार तीन महिनामा १ अर्ब १८ करोड ७६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो नाफा १ अर्ब २५ करोड ८४ लाख ३० हजार रुपैयाँ थियो। एक वर्षको अन्तरमा बैंकको त्रैमासिक खुद नाफा करिब ७ करोड ८ लाख रुपैयाँले घटेको हो।
अघिल्लो वर्षको पहिलो त्रैमासमा ५.८६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात बढेर ७.१५ प्रतिशत पुगेको छ। यो १.२९ प्रतिशत बिन्दुको वृद्धि हो।
कर्जा तथा अन्य सम्भावित नोक्सानीबापतको इम्पेयरमेन्ट खर्च २८.३० प्रतिशतले बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ४८ करोड ९ लाख ८१ हजार रुपैयाँ रहेको यस्तो खर्च यसपटक ६१ करोड ७० लाख ८३ हजार रुपैयाँ पुगेको छ।
यता खुद ब्याज आम्दानी ८.२४ प्रतिशतले बढेर २ अर्ब ६० करोड ५७ लाख ७२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी २ अर्ब ४० करोड ७४ लाख ४८ हजार रुपैयाँ थियो।
त्यस्तै, असोज मसान्तमा बैंकको कुल सञ्चित वितरणयोग्य नाफा भने २ अर्ब ५ करोड १७ लाख ४२ हजार रुपैयाँ छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ३ अर्ब ४ करोड ४६ लाख ९ हजार रुपैयाँ थियो। वार्षिक तुलनामा कुल सञ्चित वितरणयोग्य नाफा पनि ३२.६१ प्रतिशतले घटेको छ।
व्यवसाय विस्तारतर्फ बैंकको ग्राहकलाई प्रवाह भएको कर्जा गत असार मसान्तको तुलनामा ३.९० प्रतिशतले बढेर करिब २ खर्ब ३५ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा ग्राहकको निक्षेप भने ०.७५ प्रतिशतले घटेर करिब २ खर्ब ७५ अर्ब ६६ करोड रुपैयाँमा आएको छ। अघिल्लो वर्षको पहिलो त्रैमाससँग तुलना गर्दा कर्जा–निक्षेप अनुपात ८२.६५ प्रतिशतबाट बढेर ८६.४१ प्रतिशत पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी २५.९४ रुपैयाँबाट घटेर २२.६७ रुपैयाँमा झरेको छ। इक्विटीमा प्रतिफल पनि १४.७० प्रतिशतबाट १२.७१ प्रतिशतमा सीमित भएको छ।
पुँजीतर्फ कुल पुँजीकोष र जोखिमभारित सम्पत्तिको अनुपात १२.१७ प्रतिशतबाट बढेर १२.४२ प्रतिशत पुगेको छ। तर प्राथमिक पुँजीको अनुपात भने १०.१८ प्रतिशतबाट घटेर ९.५० प्रतिशतमा आएको छ। कुल पुँजीकोषको अनुपातमा सुधार हुँदा प्राथमिक पुँजीको अनुपात घटेको अवस्थाले पुँजीको संरचनामा पनि ध्यान दिनुपर्ने देखाउँछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।