काठमाण्डौ । जावलाखेलमा सञ्चालन भइरहेको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थप गरिएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (FAN) का अनुसार यसअघि कार्तिक १२ देखि १६ गतेसम्म सञ्चालन हुने तय भएको प्रदर्शनी अब कार्तिक १८ गते बुधबारसम्म सञ्चालन हुनेछ।
प्रदर्शनीको पहिलो दिन उत्साहजनक कारोबार हुनुका साथै अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। तर शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण प्रदर्शनी स्थलमा दर्शक तथा अवलोकनकर्ताको आवागमन प्रभावित भएको आयोजकले जनाएको छ।
प्रतिकूल मौसमका कारण मेला स्थलसमेत बन्द गर्नुपर्ने अवस्था सिर्जना भएपछि प्रदर्शनी अवलोकन गर्न छुटेका फूलप्रेमी, व्यवसायी, उपभोक्ता तथा सर्वसाधारणलाई थप अवसर दिन अवधि लम्ब्याइएको हो।
थप गरिएको अवधिमा विभिन्न प्रजातिका मौसमी तथा सदाबहार फूल, पुष्प सजावट, नर्सरीजन्य उत्पादन तथा पुष्प व्यवसायसँग सम्बन्धित सामग्रीको अवलोकन तथा खरिद गर्न सकिनेछ।
फ्लोरिकल्चर एसोसिएसन नेपालले मौसमका कारण प्रदर्शनी अवलोकन गर्न नपाएकालाई कार्तिक १८ गतेसम्म जावलाखेल पुगेर प्रदर्शनी अवलोकन गर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।