काठमाण्डौ । मोरङको कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा आएको छ।
नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याएको हो। पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहवी–दमक खण्डमा पर्ने सबस्टेसनलाई लुप इन तथा लुप आउट प्रणालीमार्फत प्रसारण लाइनमा जोडिएको छ।
सबस्टेसनमा १३२/३३ केभीका ६३ एमभीए क्षमताका दुई वटा र ३३/११ केभीको २२.५ एमभीए क्षमताको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ। यससँगै सबस्टेसनको कुल क्षमता १४८.५ एमभीए पुगेको छ।
सबस्टेसन सञ्चालनमा आएसँगै मोरङ र आसपासका क्षेत्रमा बढ्दो विद्युत माग व्यवस्थापन गर्न, वितरण प्रणालीको क्षमता विस्तार गर्न तथा उपभोक्तालाई गुणस्तरीय र नियमित विद्युत सेवा उपलब्ध गराउन सहयोग पुग्ने प्राधिकरणले जनाएको छ।
सबस्टेसनबाट रङ्गेली र विराटचोकतर्फ विद्युत आपूर्तिका लागि ३३ केभीका दुई–दुई वटा लाइन निर्माण गरिएको छ। ती लाइनलाई तिहारअघि चार्ज गरी सञ्चालनमा ल्याउने तयारी छ। स्थानीय क्षेत्रमा विद्युत वितरणका लागि ११ केभीका पाँच वटा फिडर लाइनसमेत तयार गरिएको छ।
सबस्टेसनबाट विद्युत आपूर्ति सुरु भएपछि कानेपोखरी, रङ्गेली, विराटचोक, लेटाङलगायत आसपासका क्षेत्रमा विद्युत सेवा थप भरपर्दो हुने अपेक्षा गरिएको छ।
लामो दूरीका ३३ केभी वितरण लाइनमार्फत विद्युत आपूर्ति हुँदै आएका क्षेत्रमा अब लाइनको दूरी छोटिने भएकाले न्यून भोल्टेज, पटक–पटक लाइन ट्रिप हुने तथा विद्युत अवरुद्ध हुने समस्या कम हुने प्राधिकरणको विश्वास छ। यसबाट प्राविधिक चुहावट घटाउनसमेत सहयोग पुग्नेछ।
केरौन सबस्टेसन निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता गरिएको थियो। करिब एक अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजना नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानी तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।